
अर्घाखाँची : रासायनिक मल अभाव बढ्दै गएपछि अर्घाखाँचीका सामुदायिक वनले प्रांगारिक मल बनाउन सुरु गरेका छन् । सरकारले रासायनिक मल खरिदको लागि आर्थिक वर्ष २०८२/८३ मा २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट छुट्याएको छ । तर मलको हाहाकार हरेक वर्ष कृषकहरुले भोग्दै आएका छन् ।
रासायनिक मलको अभावलाई परिपूर्ति गर्न पावर सामुदायिक वनले खेर जाने जंगलको पातबाट प्रांगारिक मल उत्पादन सुरु गरेको हो । वनले प्रागारिक मल उत्पादनगरी स्थानियलाई रोजगारी समेत दिइरहेको छ । रासायनिक मलको अभावले हैरान भइरहेका किसानहरु सामुदायिक वनसंग समन्वय गरेर प्रांगारिक मल बनाउने आभियान सुरु गरेको हो ।
सामुदायिक वन उपभोक्ता समितिहरूको अग्रसरतामा शितगंगाको पावर सामुदायिक वन उपभोक्ता समिति, बुद्ध सामुदायिक वन उपभोक्ता समिति, चारपोखरी सामुदायिक वन उपभोक्ता समिति, देउराली सामुदायिक वन उपभोक्ता समिति र वाणगंगा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी स्थानीयउपभोक्ताले पात बटुल्ने, प्लान्टसम्म पु¥याउने र मल उत्पादनमा सहयोग गर्ने गरेको बुद्ध सामुदायिक वनकी अध्यक्ष माया पुनले बताईन ।
शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले रासायनिक मल अभाव चर्किदा किसानले प्रांगारिक मल प्रयोग गर्न सकिने बताँउछन् । जंगलको पातबाट मल बनाउने अभियानले किसानका साथै जिल्लाकै उत्पादन र समृद्धि हुने उनको भनाई छ ।
शितगंगा–१४ का वडा अध्यक्ष दामोदर न्यौपानेले पाँच वटा सामुदायिक वनबाट ३३ हजार किलोभन्दा बढी पातपतिंगर संकलन भएको बताए । रासायनिक मलको संकटले हैरान भएका किसानका लागि पावरा सामुदायिक वन र डिभिजन वन कार्यलयको नमुना अभ्यासले किसान समेत खुसी छन । उपभोक्ताले वनभित्र फायरलाइन निर्माण गरिसकेका छन् भने यस वर्ष वनभरिका पात बढारेर बोरा र डोकोमा बोकेर प्लान्टसम्म ल्याएउने तयारीमा गरिरहेका छन् । ‘पहिले पात खेर जान्थ्यो, अहिले मल बन्छ,’ स्थानीय भक्त बहादुर पल्ली भन्छन्, ‘वन सफा हुन्छ, वातावरण जोगिन्छ, उत्पादन बढ्छ—सबैलाई फाइदा भएको छ ।’
डिभिजन वन कार्यालय अर्घाखाँचीको सहयोगमा पावर वनभित्रै पात प्रशोधन गर्ने प्लान्ट स्थापना गरिएको छ । वन कार्यालयका प्रवक्ता केशव खड्काका अनुसार पातलाई टुक्र्याउन दुईवटा मेसिन जडान गरिएको छ । मेसिनबाट धुलो बनाइएका पातलाई १५ दिनसम्म पोखरीमा कुहाइन्छ, त्यसपछि ग्रेडिङ गरेर मल तयार हुने गरेको छ । डिभिजन वन अधिकृत नारायण देव भट्टराईले रासायनिक मलको अभाव भइरहेका बेला सामुदायिक वनबाट प्रागारिक मल बनाउने अभ्यास उदाहरणीय हुने र कृषि उत्पादनमा सहयोग गर्ने बताए ।
वरिष्ठ वन अधिकृत गणेश चौधरीले अर्गानिक खेतीका लागि प्रांगारिक मल उपयुक्त हुने र पातबाट मल बनाउदा डढेलो नियन्त्रणमा ठूलो मद्दत पुग्ने बताए । वर्षायाममा बगेर खेर जाने पात अहिले व्यवस्थित रूपमा संकलन भइरहेको वाणगंगा सव डिभिजन प्रमुख अर्जुन चापागाईंले बताउछन् ।
पावर सामुदायिक वनका अध्यक्ष वीरबहादुर खाम्चाकीका अनुसार पहिलो चरणमा उत्पादन गरिएको मल सामुदायिक वनका उपभोक्तालाई वितरण गरिएको छ । उनले भने ‘यो वर्ष भने प्याकेजिङ गरेर बाहिर बिक्री गर्ने र बजार सम्म लैजाने तयारी छ ।’
प्रांगारिक मल प्रयोग गरी अर्गानिक अन्नबाली तथा तरकारी उत्पादन सुरु गरिएको उनले बताए । समुदायको प्रयास बाट गाउँलाई कृषि उद्यममा जोड्ने र स्थानीयलाई आत्मनिर्भर बनाउने सामुदायिक वनको लक्ष्य रहेको खाम्चाकिले जानकारी दिए ।
वन कार्यालयका सूचना अधिकारी केशर खड्काले आगामी वर्ष जिल्लाभर अभियान विस्तार गर्ने योजनामा अगाडि बढेको बताए । पातबाट बन्ने मलको लागि प्रदेश सरकारको पनि लगानी भएकाले कृषकलाई न्युनतम मुल्यमा प्राप्त गर्नेछन् ।