२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अर्घाखाँचीमा निर्वाचन तयारी तीव्र, मतदान केन्द्र अनुगमनदेखि सुरक्षा व्यवस्थासम्म कडाइ

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ फागुन ७ गते २१:२९
Shares
अर्घाखाँचीमा निर्वाचन तयारी तीव्र, मतदान केन्द्र अनुगमनदेखि सुरक्षा व्यवस्थासम्म कडाइ

अर्घाखाँची : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित अर्घाखाँचीमा निर्वाचन तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन कार्यालय अर्घाखाँची र जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त टोलीले जिल्लाका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अनुगमन गर्दै सुरक्षा तथा व्यवस्थापन पक्षबारे विस्तृत समीक्षा गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मतदान केन्द्रहरूको भौतिक अवस्था, पहुँच मार्ग, सुरक्षा संवेदनशीलता तथा आवश्यक जनशक्ति व्यवस्थापनको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले अनुगमनका क्रममा सम्भावित जोखिम क्षेत्र पहिचान गरी त्यसअनुसार सुरक्षा रणनीति परिमार्जन गरिएको जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेको नेतृत्वमा हरिहर मावि पोखराथोक, सिद्धार्थ माध्यमिक विद्यालय पोखराथोक–२ सिम्ले र दुर्वासेश्वर मावि दुर्गाफाँटलगायत मतदान केन्द्रहरूको अनुगमन गरिएको हो । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित कर्मचारी सहभागी थिए ।

मुख्य निर्वाचन अधिकृत पाण्डेले भने, ‘निर्वाचनलाई पूर्ण रूपमा निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रत्येक मतदान केन्द्रको भौतिक अवस्था र सुरक्षा संवेदनशीलताको सूक्ष्म अध्ययन गरिरहेका छौं । आवश्यक जनशक्ति, सामग्री र समन्वयलाई प्राथमिकतामा राखिएको छ ।’

अनुगमनका क्रममा मतदान केन्द्र वरपरको सुरक्षा अवस्था, भीड व्यवस्थापन, सञ्चार सुविधा, आकस्मिक उद्धार योजना तथा मतदान सामग्री सुरक्षित भण्डारणको अवस्थाबारे समेत समीक्षा गरिएको जिल्ला प्रहरी प्रमुख दिवसबहादुर जिसीले बताए । उनका अनुसार निर्वाचनको दिन कुनै अवरोध नआओस् भन्ने उद्देश्यले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।

आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको जानकारी दिए । ‘सरकारी कर्मचारी तथा जनप्रतिनिधिबाट आचारसंहिता उल्लंघन हुन नदिन निगरानी बढाइएको छ । सुरक्षा संवेदनशीलता मूल्यांकन गर्दै आवश्यक रणनीति तय गरिएको छ,’उनले भने । 

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले निर्वाचन सफल बनाउन सबै निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । सुरक्षाकर्मीहरूका लागि आवश्यक सामग्री, आवास र यातायात व्यवस्थापनमा कुनै कमी हुन नदिन स्थानीय तहलाई निर्देशन दिइएको उनले उल्लेख गरे । 

‘निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास हो । यसलाई शान्तिपूर्ण र भयरहित बनाउन सबै निकायले हातेमालो गर्नु जरुरी छ,’उनले भने । 

जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन लक्षित सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन प्रहरी जिल्लाभर परिचालन भइसकेका छन् । संवेदनशील र अति संवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षा प्रबन्ध मिलाइएको जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्धप्रकाश पौडेलका अनुसार कर्मचारी व्यवस्थापन, मतदान सामग्री ढुवानी, केन्द्रगत समन्वय तथा तालिम कार्यक्रमलाई तीव्रता दिइएको छ । मतदान अधिकृत तथा सहायक कर्मचारीलाई आवश्यक अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

निर्वाचनको मिति नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी गतिविधि बढ्दै गएको छ । राजनीतिक दलका प्रचार–प्रसार कार्यक्रमसँगै प्रशासनिक तयारी पनि सघन बन्दै गएको देखिन्छ । प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीचको सहकार्यले निर्वाचनलाई व्यवस्थित, सुरक्षित र विश्वसनीय रूपमा सम्पन्न गर्ने अपेक्षा जिल्लावासीले गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर