२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अर्घाखाँचीमा १ हजार २ सय ६० कर्मचारी खटिए, तीन तहको सुरक्षा व्यवस्था कडा

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ फागुन ११ गते २१:२५
Shares
अर्घाखाँचीमा १ हजार २ सय ६० कर्मचारी खटिए, तीन तहको सुरक्षा व्यवस्था कडा

अर्घाखाँची : प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी तयारी तीव्र पारिएको छ । फागुन २१ गते एकै चरणमा हुने निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटन सम्पन्न गरेको छ भने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्ध प्रसाद पौडेलका अनुसार सोमबार र मंगलबार गरी खटिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृत सिबलाला पाण्डेले मतदान प्रक्रिया, कानुनी तथा व्यावहारिक पक्ष, आचारसंहिता कार्यान्वयन, मतगणना र विवाद व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत प्रशिक्षण दिइएको जानकारी दिए ।

सहभागी मतदान अधिकृत भरत प्रसाद सापकोटाका अनुसार मतदान केन्द्र स्थापना, मतपेटिका व्यवस्थापन, आकस्मिक अवस्था सम्हाल्ने तरिका तथा जिम्मेवारी र अधिकार क्षेत्रबारे स्पष्ट रूपमा प्रशिक्षण दिइएको छ ।

तीन नगरपालिका र तीन गाउँपालिका गरी ६१ वडा रहेको जिल्लामा १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेका छन्। जिल्लाभर १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्र तोकिएका छन् । दुई अस्थायी मतदान केन्द्रमध्ये एक जिल्ला कारागारमा सञ्चालन हुनेछ ।

एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा निर्वाचन सम्पन्न गराउन १ हजार २ सय ६० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ। प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी खटाइने व्यवस्था मिलाइएको छ । अस्थायी मतदान केन्द्रमा भने एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी रहनेछन् । आवश्यक परे मतदाताको संख्याका आधारमा स्वयंसेवक समेत नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न तीन तहको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । उनका अनुसार सबै सुरक्षा निकाय परिचालन भइसकेका छन् र मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा संयन्त्र पूर्ण तयारीमा रहेको छ ।

निर्वाचनको सरगर्मी बढे पनि धेरै मतदाता जिल्ला बाहिर तथा बजार क्षेत्रमा रहेकाले गाउँघरमा अपेक्षाकृत चहलपहल कम देखिएको छ । स्थानीयवासीका अनुसार मतदान मिति नजिकिँदै जाँदा बाहिरिएका मतदाता फर्किएपछि गाउँमा पुनःचहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

पहाडी जिल्लामा जंगली जनावर—बाँदर, बँदेल र दुम्सी—को आतंक मुख्य समस्या बनेको छ । स्थानीयले यसलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । ‘राजनीतिक भाषणभन्दा खेती जोगाउने प्रतिबद्धता आवश्यक छ,’ एक स्थानीय कृषकले बताए ।

यसपटक अर्घाखाँचीमा एक महिलासहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । विभिन्न राजनीतिक दलका १२ र तीन स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । मुख्य प्रतिस्पर्धामा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

एमाले विगतको विरासत जोगाउने दाउमा छ भने लामो समयदेखि जित हात पार्न नसकेको कांग्रेस यसपटक आक्रामक रूपमा मैदानमा उत्रिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपाले पनि जितको दाबी गर्दै चुनावी प्रतिस्पर्धा थप रोचक बनाएका छन् । 

दलगत एजेन्डाभन्दा पनि खेती संरक्षण, रोजगारी सिर्जना र आधारभूत विकासका मुद्दा मतदाताका प्राथमिकतामा परेकाले फागुन २१ को मतपरिणाम कसको पक्षमा जानेछ भन्ने अनुमान गर्न कठिन भएको छ । अर्घाखाँचीमा चुनावी तापक्रम बढ्दो छ, तर मतदाताको मन जित्ने वास्तविक प्रतिस्पर्धा अझै बाँकी नै छ ।

सम्बन्धित खबर