२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रादेशिक अस्पताल गौरमा प्रसूति सेवा लिनेको संख्या बढ्दो

ADV
ओमप्रकाश यादव
२०८१ साउन १७ गते १५:४४
प्रादेशिक अस्पताल गौरमा प्रसूति सेवा लिनेको संख्या बढ्दो

रौतहट : रौतहटको प्रदेशिक अस्पताल गौरमा पछिल्लो समय प्रसूति सेवा लिने महिलाको संख्यामा वृद्धि भएको छ । पहिलाभन्दा अहिले अस्पतालको सेवा सुविधामा व्यापक सुधार गरिएको र नि:शुल्करुपमा सुरक्षित प्रसुति गराउने गरिएका कारण जिल्लाको विभिन्न पालिकाबाट प्रादेशिक अस्पतालमै गएर सुत्केरी हुनेको संख्यामा वृद्धि भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष प्रादेशिक अस्पताल गौरमा सुरक्षितरुपमा सुत्केरी हुने महिलाको संख्या अत्यधिक बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हाशमीले जानकारी दिए ।

अहिले दैनिकजसो २५ देखि ३० जनासम्म महिलाले अस्पतालमा बच्चा जन्माउने गरेको अध्यक्ष हाशमीले बताए । साउन १६ गते मात्र १८ जना महिलाले सामान्य अवस्थामा नै बच्चा जन्माएको तथा ७ जना महिलालाई शल्यक्रियामार्फत सफलतापूर्वक सुत्केरी गराइएको उनले बताए ।

प्रसुति गराउने अनुभवी तथा दक्ष चिकित्सक र अन्य सेवा सुविधा तथा उपकरणको राम्रो व्यवस्था गरिएकाले पछिल्लो समय प्रादेशिक अस्पताल गौरमा बच्चा जन्माउने महिलाको संख्या बढेको अध्यक्ष हाशमीको भनाइ छ । उनले मानिसमा चेतनाको स्तर बढेको भन्दै विगतमा भन्दा अहिले अधिकांश महिलाले नियमित गर्भ जाँचसमेत गर्ने गरेको बताए ।

अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवम् नर्सिङ कर्मचारीहरूका कारण सबैतिरबाट सुत्केरी हुनका लागि यहाँ आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुरले बताए । डाक्टर ठाकुरका अनुसार प्रसूति कक्षमा १४ जनाभन्दा बढी नर्सिङ कर्मचारी रहेको र उनीहरू चौबिसै घण्टा उपलब्ध हुने गरेका छन् । अस्पतालमा ३ जना प्रसूतिका विशेषज्ञ चिकित्सक रहेका छन् ।

निजी अस्पतालमा प्रसूति गराउँदा ठूलो रकम खर्च हुने गरेको छ । तर सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवा र शिशु सघन उपचार कक्षमा सेवा प्राप्त हुने भएकाले निजीभन्दा प्रादेशिक अस्पतालमा सुत्केरी हुन आउने महिलाको संख्या दिनप्रति दिन बढ्दै गएको पाइएको छ ।

महिलाले सुत्केरी हुनुअघि कम्तीमा चार पटक गर्भ परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणलाई अझ बढी व्यवस्थित गर्नका लागि अस्पताल प्रशासन लागिपरेको अस्पतालले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise