
काठमाडौं : ‘नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूको साम्बा...’
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले सामाजिक सञ्जालमार्फत यस्तो सम्बोधन गरिन्, जुन सामान्य वा नियमित स्टाटस थिएन । त्यो थियो– घुँडाभित्रको पीडा र व्यवस्थाभित्रको मौनतासँग जुधिरहेको एक खेलाडीको बयान ।
विगत सात हप्तादेखि साम्बा मैदानबाहिर छिन् । उनको घुँडाको एसिएलमा यसअघि गरिएको शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । जसका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने छ । एउटा खेलाडीका लागि समयको धेरै महत्व हुन्छ, तर साम्बाको उपचार प्रक्रिया भने समयमै अघि बढ्न सकेको छैन ।
उनका अनुसार अघिल्लो चोटका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले उपचार व्यवस्थापन गरेको थियो । त्यतिबेला आर्थिक र प्रशासनिक झन्झट भएन । समयमा शल्यक्रिया भयो, पुनरागमन सम्भव भयो र उनी फेरि गोलका साथ फर्किइन् । तर यसपटक अवस्था उल्टिएको छ । क्लबको पहलमा तीन सातापछि शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट प्रयास गर्ने बताउँदै प्रक्रिया रोक्यो । त्यसपछि भने निर्णय र प्रक्रियाको चक्र अघि बढेन । पटक–पटक सम्पर्क गर्दा पनि स्पष्ट जवाफ नआएपछि अन्ततः एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिइयो । नगद पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने प्रस्ताव राखियो ।
यो निर्णयसँगै पहिल्यै सुरु गरिएको प्रक्रिया अवरुद्ध भयो र साम्बा झन्डै दुई महिना ढिला भएर पुनः शल्यक्रियाको मिति खोज्ने अवस्थामा पुगिन् । एसिएलजस्तो गम्भीर चोटमा ढिलाइले करियरमै असर पार्न सक्छ । मैदानमा सेकेन्डको निर्णयले खेल जित्ने खेलाडी अहिले महिनौंको प्रतीक्षामा छिन् ।
हाल उनी आबद्ध क्लबले न्युजिल्यान्डमै उपचार गराउन तयार रहेको जनाएको छ । तर अघिल्लो पटक कतारको अस्पेटार अस्पतालमा उच्चस्तरीय उपचार भएको अनुभवका कारण साम्बा पुनः त्यहीँ जान चाहन्छिन् । क्लबले बिमाबाट प्राप्त रकम निकासा गरिदिने भए पनि शल्यक्रिया र सात–आठ महिनाको पुनस्र्थापनाका लागि अनुमानित ८० हजार अमेरिकी डलर आवश्यक पर्ने अनुमान छ । उपलब्ध बिमा रकम अपुग भएपछि उनले समर्थकमाझ सहयोगको आह्वान गरेकी हुन् ।
सरकारी तहमा पनि उपचार सहयोगका लागि पहल भएको छ, तर प्रक्रिया चाहेजसरी अघि बढ्न नसकेको उनले बताएकी छन् । जसका कारण राष्ट्रिय टोलीको कप्तान स्वयंले सहयोग माग्नुपरेको छ । देशका लागि वर्षौं प्रतिनिधित्व गरेकी, दक्षिण एसियाकै सर्वाधिक चर्चित स्ट्राइकरमध्ये एक खेलाडी उपचार खर्च जुटाउन संघर्षरत हुनु उनको व्यक्तिगत समस्या मात्र होइन– नेपाली खेलकुद्को प्रणालीगत कमजोरी पनि हो ।
साम्बाको करियर आफैंमा संघर्षको कथा हो । किशोरावस्थामै राष्ट्रिय टोलीमा प्रवेश गरेर गोलपछि गोल गर्दै उनले नेपाली महिला फुटबललाई नयाँ उचाइमा पु¥याइन् । भारतको लिग जित्दा होस् वा इजरायल र फ्रान्समा खेल्दा, उनले नेपालको नामलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याइन् । अहिले अष्ट्रेलियाको ए लिगमा प्रतिस्पर्धा गर्दै विश्व फुटबलसँग कदम मिलाइरहेकी छन् । उनले जहाँ खेले पनि आफ्नो पहिचान राष्ट्रसँगै जोडिएको बताउँदै आएकी छन् ।
यही खेलाडी आज लेख्छिन्– ‘थाकेको हो, हारेको छैन ।’ एन्फाभित्र ‘क्लबका लागि खेल्दा लागेको चोट’ भन्ने तर्क सुन्दा आफू निराश भएको उनले संकेत गरेकी छन् । तर आधुनिक फुटबलमा क्लब र देश अलग–अलग होइनन् । क्लबको प्रतिस्पर्धाले नै खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा तयार बनाउँछ ।
राष्ट्रिय टोलीको कप्तानको उपचार ढिलाइले एन्फा र सरकारी निकायप्रति प्रश्न उठाएको छ । यदि युरोपसम्म पुगेर खेलेकी कप्तान उपचारका लागि सार्वजनिक सहयोगमा निर्भर हुनुपर्छ भने, घरेलु लिगमा संघर्षरत अन्य खेलाडीहरूको अवस्था कस्तो होला ?
साम्बा फेरि मैदान फर्कने विश्वास व्यक्त गर्छिन् । उनलाई विश्वास छ– ‘यो चोटले थकाए पनि हराउन सक्दैन ।’ तर उनको पुनरागमन केवल व्यक्तिगत दृढताले मात्र सम्भव हुँदैन, त्यसका लागि एन्फाको प्रतिबद्धता र राज्यको उत्तरदायित्व पनि उत्तिकै आवश्यक हुन्छ ।
कप्तानको घुँडा अहिले शल्यक्रियाको प्रतीक्षामा छ । सँगै प्रतीक्षामा छ– नेपाली खेल प्रशासनको संवेदनशीलता ।
हामी साथमै छौं : एन्फा
एन्फाले साम्बाले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै साम्बाको उपचारबारे विभिन्न पहल भइरहेको स्पष्ट पारेका छन् ।
एन्फा प्रवक्ता शाहले व्यावसायिक क्लब फुटबलमा खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबकै हुने अन्तर्राष्ट्रिय प्रचलन रहेको उल्लेख गरेका छन् । साम्बाको उपचारका लागि क्लबले न्युजिल्यान्डमै अस्पतालमा प्रक्रिया अघि बढाएको भए पनि उनले कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि त्यसका लागि पहल थालिएको एन्फाको भनाइ छ ।
एन्फाले साम्बाको उपचारसम्बन्धी आवश्यक समन्वयका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकेको जनाएको छ । साथै एन्फा अध्यक्षले व्यक्तिगत तहबाट पनि पटक–पटक आवश्यक पहल र ताकेता गरिरहेको जानकारी दिइएको छ ।
साम्बाको आग्रहअनुसार एन्फाले परराष्ट्र मन्त्रालयमार्फत उपचार प्रक्रियामा समन्वयका लागि पत्राचार गरिसकेको पनि स्पष्ट पारेको छ । यसअघि राष्ट्रिय महिला टोलीका खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी र सविता राना मगरलगायतको उपचार खर्च एन्फाले नै व्यहोरेको उल्लेख गर्दै संघले खेलाडीहरूको उपचारमा संघ प्रतिबद्ध रहेको जनाएको छ ।
एन्फाले साम्बाको सम्बन्धित क्लबसँग भएको सम्झौताबारे अध्ययन र छलफल गरी उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । राष्ट्रिय टोलीकी कप्तानको पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा रहेको र उनलाई यथाशीघ्र मैदानमा फर्काउन संघ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।