–राजेश भट्टराई
थियो एउटा गरिब परिवार, बिहान साँझको छाक टार्न पनि सधैँ केही न केही गर्नै पर्ने । त्यसमाथि श्रीमतीको पेटमा भर्खर भ्रूण बसेको । केही खायो कि वान्ता गरिहाल्ने, अडिँदै नअडिने । लखतरान पर्थिन् उनी । दोधारमा पथ्र्याे ऊ । काममा जाऊ कि बुढीलाई हेरेर बसुँ ? कहिले काममा जाने, कहिले बुढी कुरेर बस्ने गर्दागर्दै बित्यो समय । पछि पछि त वान्ता हुन छोड्यो अनि जान थाल्यो सधैँ काममा ।
एउटाको कमाईले खान लाउन मात्र पुग्थ्यो । केही बँच्थेन । त्यसैले वान्ता हुन छाडेपछि श्रीमतिले श्रीमानलाई भनिन्, “मैले पनि केही काम गर्छु, तपाईंको मात्र कमाईले त थोरै पनि बचाउन सकिएन ।”
पेट तिर देखाउँदै भनिन्, “पछि यसलाई जन्माउने, हुर्काउने, बेलामा झनै गाह्रो हुन्छ ।”
यसो विचार गर्यो । अनि हो जस्तो नै लाग्यो, भन्यो, “ठीकै छ तर, ख्याल राखेर गर्नु नि, काम ।”
बँच्यो एउटाको कमाई । केही पैंसा बचत भयो । नौ महिना पछि छोरा जन्मियो । न्वारान गरे, बार्हौँ दिनमा । राखे नाम, ‘सुशील’ ।
जन्माउँदा, न्वारन गर्दा, हुर्काउँदा, बढाउँदा बचत भएको पैंसा सबै सकियो । स्कुल लगाइदिने उमेर पनि भयो । लगाईदिए स्कुल । अनि भन्न थालिन्, “अब त बाबु स्कुल गएको बेलामा मैँले पनि काम गर्छु ।”
उसले पनि चाहेको त्यही थियो । भन्यो, “हुन्छ ।”
अलि अलि बचत भएको पैंसाले दुई वर्ष पछि एउटा पसल खोले । राम्रो चल्यो । दुवै जना ज्याला मजदुरी गर्न छोडेर पसलमै व्यस्त भए । पाँच वर्षमै एउटा दुई तले घर बनाए । विपन्न परिवार मध्यम वर्गमा परिणत भयो ।
दुःखमा हुर्केको सुशील गतिलो भयो । नाम जस्तै उसको काम थियो । छोरा भनेपनि हुने, छोरी भने पनि हुने । घरको काम, बाहिरको काम, सबै जानेको । खाना पनि मिठो पकाउँथ्यो । बजार गएर राम्रो–राम्रो ताजा तरकारी पनि भाउ मिलाएर ल्याउँथ्यो । पढाइमा पनि अब्बल थियो । सधैँ राम्रो नम्बर ल्याएर पास हुन्थ्यो ।
एस.एल.सी. डिसटिंन्सन ल्याएर पास भई उच्च शिक्षा हासिल गर्न कलेज भर्ना भयो । कलेजमा उसँगै पढ्ने एउटी केटी थिइन्, सुशीला । उनी पनि सबै कुरामा सुशील जत्तिकै गुणवान थिइन् । समय बितेसँगै उनीहरु एक अर्काका असल साथी बन्न पुगे ।
तर, सुशीलाको परिवार भने निम्न वर्गको थियो । घरकाले पढाउन नसकेर एउटा प्राइभेट जागिर गर्दै पढ्दै गरेकी थिइन् । बाउ बसले किचेर बितिसकेकोले आमासँग मात्र बसेकी थिइन् । आमाले ज्याला मजदुरी गरेर आफु अनि छोरीको पेट पालेकी थिइन् । अब आमालाई धेरै दुःख दिनु हँुदैन भनेर जागिर गर्दै पढ्दै गरेकी उनले सुशीललाई आफ्नो पारिवारिक अवस्था सबै बताएकी थिइन । उसले ढाडस मात्र दिने हैन सहयोग पनि गथ्र्यो । क्लास छोडेर काममा जाँदा अर्को दिन नोटहरु पढ्न सार्न दिन्थ्यो । नबुझेको कुराहरु सिकाउँथ्यो । पढाउँथ्यो । यस्तो सहयोगी साथी पाउँदा उनी पनि औधी खुसी हुँदै उसलाई बुद्ध ठानेर मनमनै पुजा गर्थिन् । उ पनि उनको मिहिनेतको उच्च प्रशंसा गथ्र्यो ।
निकट साथित्वको साथ समय बित्दै जाँदा विस्तारै विस्तारै प्रेममा बदलिन थाल्यो । उसको मनमा उनीप्रति प्रेमभाव पलाउन थाल्यो । त्यसैले एकदिन भन्यो, “सुशीला हाम्रो यो कलेजको निकटको साथित्वलाई जिन्दगी भरको साथित्वमा परिणत गर्दा कसो होला ?”
उनले नबुझे जस्तो गरी भनिन्, “साथी त हामी सधैँलाई छौ नि ।”
“मैले त्यो मात्र भनेको होइन ।”
“के हो त ?”
“हाम्रो यो साथीको सम्बन्धलाई अहिले प्रेमी प्रेमीका र पछि जीवन साथीको रूपमा बदलौं भनेको हो ।”, उसले प्रष्ट भन्यो ।
उनको लागि यो अप्रत्याशित नभए पनि सिरियस भइन् र भनिन, “सुशील म कुन ब्याकग्राउण्डको मान्छे, तिमी कुन ब्याक ग्राउण्डको, मलाई तिम्रो परिवारले स्वीकारलान् त ?”
“त्यस्को तिमीले चिन्ता लिनै पर्दैन । मलाई मेरो घरकाले एकदमै राम्रो मान्छन् । मैले भनेपछि हुन्न भन्दैनन्”, उसले ढुक्कले भन्यो ।
“त्यहीँ पनि एकचोटी राम्ररी विचार गर । प्रेममा परेर पछि विछोड हुँदा गहिरो पीडामा डुबेकाहरु मैँले धेरै देखेको छु । त्यस्तो पीडामा म पर्न चाहान्न ।”
“त्यस्तो हुँदैन के ! मेरो विश्वास गर न ! मेरो भर पर न ! आखिर हामी पनि पहिलेदेखि कहाँ धनि हो र ? धेरै संघर्ष गरेर यो अवस्थासम्म आएका हौं ।”
“ल ल हुन्छ त्यसो भए ।” सुशीलाले सहमती जनाइन् ।
समय बित्दै गयो । पढाइ पनि सकियो । सुशीलले एउटा संस्थामा राम्रो जागिर भेट्यो । अब त बिहे गर्नुपर्छ भन्दै घरमा बिहेको लागि केटी हेर्न शुरु भयो । उसले “अन्त केटी नहेर्नु, मैले हेरिसकेको छु” भन्यो । बा–आमाबाट को केटी ? कस्ती केटी ? सबै सोधनी भयो । सबै यथार्थ बतायो । अस्वीकार गरे र भने, “आफ्नो स्तर मिल्ने हुनुपर्छ ।”
उसले बा–आमाको असली रूप बल्ल देख्यो र स्तब्ध भयो । तैपनि सुशीलाको गुणहरूको चर्चा गर्दै सम्झाउन कोशिश गर्यो तर, भएन । अन्तिममा “सुशीलासँग बिहे गर्न पाइन्न भने बिहे नै गर्दिन” भनेर अड्डी कस्यो । र, एकदिन भेटेर सुशीलालाई सबै कुरा भन्यो । उनी धेरै चिन्तित भइन् ।
एकदिन बा–आमाले सुशीलालाई घरमा बोलाउन भने । सुशीलले बोलायो । तर, बा–आमाले सुशीलालाई “सम्पत्ति देखेर आउन खोजेको हो ?” जस्ता अनेकन तुच्छ शब्दले गाली गरे । उनी रुँदै फर्किइन् । बा–आमाले मान्दै नमाने पछि ऊ अन्तिम पटक उनलाई भेट्न गयो र रुँदै माफी माग्यो । उनी पनि धेरै रोइन । रुँदै अन्तिम पटक अँगालोमा बाँधिए र छुट्टिए ।
आफ्नो आर्थिक स्तर सुहाउँदो केटी खोजेर विवाह गरिदिए । बिहे त गरिदिए तर, केटी निकै खतरनाक ! बुहारी बन्न होइन, कजाउन आएकी जस्ती । कहिले काहीँ त आफुले खाएको थाल पनि सासुलाई ‘माझ्नु’ भनेर काममा जान्थी । अरु भाँडा त कहिल्यै नमाझ्ने । कहिले मिटिङ थियो, कहिले साथीसँग भेट भयो भन्दै राति अबेला घर आउँथी । सासुले पकाएको भात खाएर थाल जुठै राखी कहिले टाउको दुखेछ भनेर त, कहिले थकाई लागेछ, भनेर आफ्नो कोठामा गएर सुतिहाल्थी । बिहान पनि निक्कै ढिलो उठ्थी । सासुले ओछ्यानमै चिया लगिदिनु पर्ने । सुशीलले “यस्तो नगर न” भन्दा “तिमीले नै गर न त काम” भनेर थर्काउथी । बिदाको दिन पनि घरको काम गर्थिन् । सुशीलसँग “घुम्न जाम” भन्थी । नगए साथी खोजेर जान्थी । कहिलेकाँही त आफ्ना लुगा पनि सासुलाई “धुनु है” भनेर भन्थी ।
बुहारीको यस्तो चाला देखेर सासु ससुरा निकै दुखित हुन्थे । बा–आमा चिन्तामा डुबेको देखेर सुशीलले भन्थ्यो, “यो सब सुशीलालाई धोका दिएकोमा लागेको पाप हो । तपाईँहरुको कारणले मैंले पनि दुःख पाउने भए ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies