
अर्घाखाँची : अर्घाखाँची शितगङगा नगरपालिका भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो नगरपालिका तथा विकट बस्तीका रूपमा परिचित छ । चार वर्षअघि कार्यसम्पादन मूल्यांकनमा देशकै पाँचौं उत्कृष्ट नगरपालिका घोषित भएको शितगंगाले आफ्नो त्यो बिरासत जोगाइराख्दै विकास र सेवा प्रवाहलाई तीव्रता दिएको छ ।
परिणामस्वरूप स्थानीय नागरिकमा नयाँ उत्साह र विश्वास पलाएको छ । ‘सिंहदरबारको अधिकार गाउँटोलमै पुर्याउने’ उद्देश्यसहित नगरपालिकाले १ नम्बर वडादेखि १४ वटै वडामा नागरिकमैत्री घुम्ती सेवा सञ्चालन गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार अब नागरिकले सामान्य सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।
नगरपालिकाले ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार गरी गर्भवती महिलाहरूलाई वडा तहबाटै भिडियो एक्स–रे सेवा उपलब्ध गराउन थालेको छ । कर सेवा समेत सञ्चालनमा आएपछि दुर्गम बस्तीका व्यवसायीलाई सहजता भएको जनाइएको छ ।
स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्दै प्रत्येक वर्ष निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । विशेषज्ञ चिकित्सकसहितको टोली गाउँमै पुगेर उपचार गर्ने तयारीमा छ । गर्भवती महिलाका लागि नियमित भिडियो एक्स–रे सेवा, स्वास्थ्य चौकी भवन निर्माण तथा स्तरोन्नति जस्ता कार्यले स्वास्थ्य पहुँचमा उल्लेखनीय सुधार आएको स्थानीय कृष्णप्रसाद न्यौपानेले बताए ।
नगरभित्र सडक पिच गर्ने, साना बजार क्षेत्रका सडक चौडा पार्ने, बजारमा सडक बत्ती र हाईमास्ट लाइट जडान गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ । पर्यटकीय सम्भावना बोकेको डम्मरु दह लाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित पूर्वाधार निर्माण भइरहेको छ ।
सामुदायिक वनहरूसँग सहकार्य गर्दै विकास निर्माणलाई दिगो र जनउत्तरदायी बनाइएको छ, भने खोलानालामा हुने चोरी निकासी नियन्त्रण, सीमाक्षेत्र संरक्षण र सार्वजनिक सम्पत्तिको सुरक्षा जस्ता कार्यलाई प्राथमिकतामा राखिएको प्रशासकीय अधिकृत नुमलाल खनालले जानकारी दिए । किसानलाई प्रोत्साहन गर्ने, युवा र सीमान्तकृत समुदाय लक्षित कार्यक्रम सञ्चालन, उत्पादनका आधारमा अनुदान वितरण तथा दलित, जनजाति, महिला र बालबालिका लक्षित सीपमूलक तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।
नगरपालिकाभित्रका जंगलमा पाइने भर्लाको पात, थाकलको पात र मकैको खोस्टाबाट टोपी, झोला र ढकिया बनाउने तालिम लिएपछि स्थानीय महिलाहरू आत्मनिर्भर बन्न थालेका छन् ।
अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायलाई घरमै पुगेर सेवा दिने अभियानले ‘मुस्कानसहितको सेवा’लाई व्यवहारमा उतारेको स्थानीय विष्णु पौडेलको भनाइ छ ।
नगरप्रमुख छबिलाल पौडेलका अनुसार नगरपालिका ‘नागरिकको दैलोको सरकार’का रूपमा उत्तरदायी र पारदर्शी बन्न प्रतिबद्ध छ । सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गुनासा तथा सुझाव संकलन गरी सोही आधारमा योजना अगाडि बढाइने तयारी रहेको जनाइएको छ ।
प्रशासकीय अधिकृत नुमलाल खनालका अनुसार उद्देश्यविपरीत सञ्चालन भएका तथा निष्क्रिय सहकारी संस्थाहरूलाई नियमन गरिएकाले सहकारी क्षेत्रसमेत सुधारोन्मुख बनेको छ ।
सेवाग्राही गणेश पुलामीका अनुसार अहिले कार्यालय पुगेपछि पाँच मिनेटभन्दा बढी कुर्नुपर्दैन, यो प्रशासनिक सुधारको स्पष्ट संकेत हो ।
नगरपालिकाले नगर प्रहरी नियुक्ति, रिक्त प्राविधिक पदपूर्ति, स्वास्थ्य भवन सम्पन्न गरी सेवा विस्तार गर्ने योजना अघि सारेको छ । सबै वडाको समस्या पहिचान गरी डीपीआर निर्माण, योजनाको प्रभावकारी अनुगमन तथा वैशाखभित्र अधिकांश योजना सम्पन्न गर्ने लक्ष्य लिइएको उपप्रमुख गीता भाटले बताइन् ।
भौगोलिक रूपमा विकट भए पनि विकास र सुशासनमा उदाहरणीय अभ्यास गर्दै शितगंगा नगरपालिकाले स्थानीय सरकारको अनुभूति नागरिकको घरदैलोमै दिलाएको छ । सीमित स्रोतसाधनका बाबजुद जनप्रतिनिधि र कर्मचारीको सक्रियता, पारदर्शिता र नागरिकमैत्री सेवाले शितगंगालाई राष्ट्रियस्तरमै प्रभाव पार्ने स्थानीय तहका रूपमा स्थापित गरेको छ ।