
कालीकोट : राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको कालिकोट जिल्लामा सञ्चालन गरिएको एचपिभी खोप अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सञ्चालित अभियानमा लक्षित किशोरीहरूको ९५.७४ प्रतिशतलाई खोप प्रदान गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार अभियान अवधिमा १ हजार ८ सय १३ जना किशोरी लक्षित रहेकामा १ हजार ७ सय ४० जनालाई महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको हो । यससँगै ९५.७४ प्रतिशत प्रगति हासिल भएको कार्यालयले जनाएको छ ।
विद्यालय जाने १० वर्ष उमेर समूहका तथा ११ देखि १४ वर्ष उमेरका विद्यालय नजाने किशोरीहरूलाई प्राथमिकतामा राखी खोप कार्यक्रम सञ्चालन गरिएको थियो । साथै २०८१ सालमा छुट भएका किशोरीहरूलाई समेत समेटिएको बताइएको छ ।
त्यस्तै अधिकांश स्थानीय तहले शतप्रतिशत प्रगति हासिल गरेका छन् । नरहरिनाथ गाउँपालिका मा ८२.५४ प्रतिशत, खाडाचक्र नगरपालिका मा ९५.५४ प्रतिशत, महावै गाउँपालिका मा ९६.३ प्रतिशत तथा शुभकालिका गाउँपालिका मा ९७.१४ प्रतिशत प्रगति भएको छ भने अन्य स्थानीय तहले १०० प्रतिशत उपलब्धि हासिल गरेका छन् ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले अभियान सफल बनाउन सहयोग गर्ने जिल्ला खोप समन्वय समिति, पालिका खोप समन्वय समिति, वडा खोप समन्वय समिति, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सञ्चारकर्मीप्रति धन्यवाद व्यक्त गरे ।
स्वास्थ्य सेवा व्यवस्थापक डा.रत्नवीर सुनारले एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा समेत खोप कार्यक्रमलाई प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिए ।