
अर्घाखाँची : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिनबाट सुधारको थालनी गरिने बताएका छन् ।
नेपाली कांग्रेस छत्रकोटले गुल्मी क्षेत्र नं. १ को चोयगामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले वर्तमान सभापति गगन कुमार थापा र पूर्व सभापति शेरबहादुर देउवा को सम्पत्ति छानबिन गरेर पार्टीभित्रैबाट सुधार सुरु गरिने बताएका हुन् ।
उपसभापति शर्माले कांग्रेसले देशका समस्या पहिचान गरी समाधानका लागि सच्चिएर अघि बढेको दाबी गरे । देशका असल मुद्दा तथा जेन–जी पुस्ताको भावना अनुसार काम गर्ने गरी पार्टी अघि बढिरहेको उल्लेख गर्दै उनले कांग्रेसलाई विश्वास गर्न आग्रह गरे ।
उनले पुरानो पार्टी सकियो, नयाँलाई रोजौँ भन्ने बहसप्रति टिप्पणी गर्दै भने, ‘यदि पुरानो चाहिने हो भने सबैभन्दा पुरानो लोकतान्त्रिक दल कांग्रेस हो, यदि नयाँ चाहियो भने परिवर्तन भएर आएको नयाँ कांग्रेस पनि यही हो ।’ गल्ती, कमी–कमजोरी सच्याएर राम्रो कामलाई अंगाल्दै अघि बढ्ने पार्टीका रूपमा कांग्रेस प्रस्तुत भएको उनले बताए ।
भ्रष्टाचारको आरोप लागेमा जोसुकै नेता भए पनि पार्टी सदस्यताबाट हटाएर कानुनी प्रक्रियालाई सघाउने उनले प्रतिबद्धता जनाए । ‘मुद्दा लागेपछि राजनीतिक संरक्षण होइन, कानुनलाई सहयोग गर्ने संस्कार बसाल्छौं’ शर्माले भने । कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने र सेवाग्राहीले आवश्यक कागजात लिएर कार्यालय जाँदा काम नहुने अवस्थाको अन्त्य गरिने उनले बताए ।
शर्माले २०६४ सालको जस्तो आवेगमा विवेक गुमाउने गल्ती नदोहोर्याउन मतदातालाई आग्रह गरे । ‘सिंगो टिम, विज्ञ र योग्य व्यक्तिलाई समेटेर देश हाक्ने क्षमता कांग्रेससँग छ,’उनले दाबी गरे । जेनजेड युवाले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने उनको तर्क थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं.१ का उम्मेदवार डा.चन्द्र भण्डारीले संविधान जोगाउने पक्षमा मतदान गर्न आग्रह गरे । लुम्बिनी प्रदेश उपसभापति तथा प्रतिनिधिसभा उम्मेदवार भुवन श्रेष्ठले देशलाई विकास र निकास दिन गगन नेतृत्व आवश्यक रहेको बताए । गुल्मी कांग्रेस सभापति खिलध्वज पन्थीले जिल्लाको समग्र विकासका लागि दुवै उम्मेदवारलाई जिताउन आन्तरिक मनमुटाव त्यागेर एकताबद्ध हुन कार्यकर्तालाई आह्वान गरे ।