
दोहा, कतार : इरानका सर्वोच्च नेता आयतउल्लाह अलि खामेनीको मृत्यु भएसँगै इरानले मध्यपूर्वका आधाभन्दा बढी देशमा रहेका अमेरिकन बेस क्याम्पमा आक्रमण तीव्र पारेसँगै युएईमा एक नेपालीको ज्यान गएको छ । खामेनीको मृत्युसँगै आक्रमणलाई तीव्र पारेको इरानले सयौँ मिसाइल र ड्रोन प्रहार गरेको छ । कहाँ कुन स्थानमा मृत्यु भएको स्पष्ट नखुलाए पनि नेपाली सँगै पाकिस्तानी र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
क्षेत्रीय तनाव बढिरहेका बेला कतारले आफ्ना बासिन्दाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बहुस्तरीय सुरक्षा संयन्त्र सक्रिय गरेको छ । कतारको रक्षा मन्त्रालयले देशको हवाई क्षेत्रतर्फ लक्षित गरी प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक अवरोध गरिरहेको जनाएको छ । सरकारी समाचार माध्यम मार्फत सार्वजनिक विज्ञप्तिमा कतारी सशस्त्र बल उच्च तयारीका साथ परिचालित भएको उल्लेख गरिएको छ ।

आक्रमणले मध्यपूर्वका देसलाई ट्रान्जिट बनाएर अर्को देशको यात्रा गर्ने यात्रुहरू विमानस्थल देखि होटेलहरूमा खचाखच भरिएका छन् भने यहाँ आउने र जाने उडान तालिकाका लागि अर्को सूचना पर्खनुको विकल्प छैन । त्यस्तै कतारी हवाई क्षेत्र निरन्तर बन्द रहेकाले आफ्ना उडान सेवा दोस्रो दिन पनि अस्थायी रूपमा स्थगित गरेको कतार एयरवेजले जनाएको छ । मध्यपूर्वको देश कतारमा भने सरकारी तथा निजी क्षेत्रका कम्पनीले आइतबार “वर्क फर्म होम’ गर्न आफ्ना कामदारलाई आग्रह गरे ।
आइतबार बिहान र दिउँसो गरेर दर्जनौं मिसाइल कतारको अमेरिकन बेस क्यापमा लक्षित गर्दै इरानले प्रहार गरे पनि अधिकांस मिसाइल कतारले आकाशमै निष्क्रिय पार्यो भने केही टुक्रा कतारको औद्योगिक क्षेत्रमा खसेको थियो । जहाँ धुवाको कालो मुस्लो उडेको देखिएको थियो । त्यसलाई सिभिल डिफेन्सको टिमले तुरुन्त नियन्त्रणमा लिएको र कुनै मानवीय हताहत नभएको जनाएको छ ।

यता कतार सरकारले अको सूचना जारी नहुँदा सम्म मनोरञ्जन, सामूहिक खानपिन लगायतका गतिविधिमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका अनुसार शनिवार बिहा आक्रमण सुरु भएयता घाइते हुनेको कुल संख्या १६ पुगेको र सामान्य रूपमा केही स्थानमा भौतिक क्षति भएको पनि जनाएको छ । मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार देशभर निरन्तर अनुगमनका लागि सुरक्षा गस्ती र आपत्कालीन टोलीहरू परिचालन गरिएको जनाएको छ ।
अधिकारीहरूले सर्वसाधारणलाई भिडभाड नगर्न र घटनास्थलबाट टाढा रहन आग्रह गरेका छन् । मन्त्रालयले नागरिक, बासिन्दा तथा आगन्तुकहरूलाई नआत्तिन, सुरक्षा निकायका निर्देशनहरू पालना गर्न, हल्ला-अफवाह नफैलाउन र आधिकारिक स्रोतबाट जारी गरिएका सूचनामै मात्र भर पर्न आग्रह गरेको छ। मन्त्रालयले शंकास्पद वस्तु वा पहिचान नभएका अवशेषहरू नछुन र नजिक नजान र त्यस्ता वस्तु देखिएमा तुरुन्तै ९९९ नम्बरमा फोन गरेर जानकारी गराउन पनि अनुरोध गरेको छ ।