
अर्घाखाँची : अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सबै बन्दोबस्तीका सामग्री, निर्वाचन मतपेटीका, मतपत्र लगायतका सम्पूर्ण सामग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगेर स्थानीय राजनीति दलहरुसँग समन्वय गरी सर्वदलीय बैठक समेत सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।
निर्वाचन सम्पन्न गर्नको लागि जिल्लाभर उपसचिवदेखि कार्यालय सहयोगीसम्म १२ सय ६२ जना निजामती कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिए ।
सोमबार राति १२ बजेबाट मौन अवधि लागेको र यस समयमा हुनसक्ने आचारसंहिता उल्लंघनका घटनालाई कम गर्न सुक्ष्म ढगले सूचना संकलनका लागि अनुसन्धान प्रहरी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत पाण्डेको भनाइ छ । मंगलबार रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत सभाहल सन्धिखर्कमा आयोजना गरेको निर्वाचनको तयारी तथा भावी रणनीतिक विषयमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले तयारीबारे जानकारी गराएका छन् ।
अपाङ्गता भएका, ज्येष्ठ नागरिक, असहाय तथा अशक्त मतदातालाई सहज रूपमा मतदान गर्नबाट बन्चित हुन नदिनका लागि स्थानीय रुपमा समन्वय गरि मतदान केन्द्रसम्म पुग्ने व्यवस्था मिलाइएको छ । पाण्डेले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै मतदातालाई निर्धक्क भइ मतदानमा सहभागी हुन आग्रह गरेका छन् । निर्वाचनका लागि मतपेटीका लगायतका सम्पूर्ण सामग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगिसकेपछि अहिले जिल्लाभर तीन तहमा सुरक्षाकर्मीहरु परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।
जिल्लामा २ सय ११ मतदान केन्द्रमा निर्वाचन सामग्री पुगीसकेको छ । मतदान केन्द्रमध्ये स्थायी १ सय ९ र २ अस्थायी मतदान केन्द्र रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
यी अस्थायी मतदान केन्द्रमा जिल्ला कारागारका कैदी बन्दी र कर्मचारीले समानुपातिक मतदान गर्ने छन् । मतदान केन्द्रको अवस्था हेरेर सुरक्षा व्यवस्था मिलाएकाले भयरहित र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नरहेकोले निर्धक्क भएर मतदानमा सहभागी मतदातालाई आग्रह गरे । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा सुरक्षा अवस्था बुझ्न अधिकांश ठाउँमा मुख्य निर्वाचन अधिकृत पाण्डे प्रमुख जिल्ला अधिकारी सुवेदी सुरक्षा अधिकारीहरु पुगेर सुरक्षा विश्लेषण गरी सोही अनुसार सुरक्षा व्यवस्था कडा पारिएकोले मतदाताले ढुक्कसँग मतको प्रयोग गर्न सक्ने प्रहरी प्रमुख दिवस जिसीले बताए ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान तथा निर्वाचन प्रहरी परिचालन गरिएको डिएसपी जिसीले जानकारी दिए । जिल्लामा १ लाख ७१ हजार ६ सय ६२ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी बुद्ध प्रकाश पौडेल, सेना प्रमुख रीक्की पाण्डे, राष्ट्रिय अनुसन्धान प्रमुख विजय चर्तुबेदी,सशस्त्र प्रहरी प्रमुख योगराज दाहाल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसी, सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
फागुन २१ गते हुने मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि निर्वाचनको अन्तिम परिणाम घोषणा नहुने बेलासम्मका लागि मदिरा बिक्रीवितरणमा रोक लगाउनुका साथै सेवन नगर्न÷नगराउन प्रशासनले सूचना जारी गरी आग्रह गरिएको सहायक प्रजिअ झबिलाल भट्टराईले जानकारी दिए ।