
दोहा, कतार : हालै सम्पन्न संसदीय निर्वाचनपछि नेपालमा नयाँ राजनीतिक शक्तिको उदय हुने संकेत देखिएको भन्दै विभिन्न क्षेत्रबाट नयाँ सरकारप्रति अपेक्षा व्यक्त हुन थालेका छन् । लामो समयदेखि दुई ठूला दलको विकल्प खोजिरहेका मतदाताले पछिल्ला वर्षमा उदाएका नयाँ शक्तिलाई विश्वास गरेर मत दिएको विश्लेषण गरिँदैछ ।
यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले अब बन्ने सरकारले देशलाई सुरक्षित, समृद्ध र आत्मनिर्भर बनाउन केही महत्वपूर्ण क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले नयाँ सरकारले दीर्घकालीन योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने १५ वटा प्रमुख विषय अघि सारेका छन् ।
पन्थीका अनुसार महिला तथा बालबालिकामाथि हुने बलात्कारजस्ता जघन्य अपराध नियन्त्रणका लागि कानुन अझ कडा बनाइनु आवश्यक छ। यस्ता घटनामा छिटो अनुसन्धान र द्रुत न्याय सुनिश्चित गर्न विशेष अदालत तथा पीडित सुरक्षा प्रणाली प्रभावकारी बनाइनुपर्ने उनले बताए ।
पूर्वाधार विकासतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले नेपालको भौगोलिक अवस्थाअनुसार पहाडी क्षेत्रमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । मुख्य राजमार्गहरूलाई चौडा र सुरक्षित बनाउँदै सडकमा पर्याप्त स्ट्रिट लाइट, साइकल लेन र पैदलमार्गको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
त्यस्तै देशका प्रमुख सहरहरूलाई मेट्रो वा आधुनिक रेलमार्फत जोड्न सके यात्रु र मालसामान ढुवानी सहज हुने, आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनले बताए । स्थलरुद्ध देश भएकाले छिमेकी राष्ट्रसँग दीर्घकालीन सम्झौतामार्फत समुद्री बन्दरगाह प्रयोगको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
राष्ट्रिय सुरक्षाका लागि सीमामा आधुनिक निगरानी प्रणाली स्थापना, सुरक्षाकर्मीको प्रभावकारी परिचालन तथा आवश्यक स्थानमा सुरक्षा संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ । यसले अवैध गतिविधि र तस्करी नियन्त्रण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
सामाजिक पूर्वाधारतर्फ उनले प्रत्येक सहर र बस्तीमा ज्येष्ठ नागरिकका लागि आरामदायी पार्क तथा बालबालिकाका लागि सुरक्षित चिल्ड्रेन पार्क निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । यसले स्वस्थ र सकारात्मक सामाजिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा सुनिश्चित गर्न सरकारी अस्पताल र विद्यालयलाई सुदृढ बनाउँदै आवश्यक जनशक्ति, उपकरण र पूर्वाधारमा लगानी बढाउनुपर्ने उनले बताएका छन् । विद्यालय स्तरबाटै नैतिकता, अनुशासन र सामाजिक जिम्मेवारीसम्बन्धी शिक्षा समावेश गर्नुपर्ने उनको धारणा छ ।
पर्यटन तथा पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थलहरूको आधुनिकीकरण गर्नुपर्ने तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वस्तरीय आध्यात्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझाव पनि उनले दिएका छन् ।
पन्थीले नेपालमा रहेका ग्यास, फलाम, खनिज तथा अन्य प्राकृतिक स्रोतको वैज्ञानिक अध्ययन र उत्खननमार्फत उद्योग विकास, रोजगारी सिर्जना र राष्ट्रिय आम्दानी वृद्धि गर्न सकिने बताएका छन् ।
सरकारी सेवा प्रवाहलाई सहज बनाउन सबै सेवाहरूलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा ल्याउनुपर्ने उल्लेख गर्दै उनले यसले पारदर्शिता बढाउने र प्रशासनिक दक्षता सुधार गर्ने बताए ।
भ्रष्टाचार नियन्त्रणलाई देश विकासको मुख्य आधार मान्दै उनले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’को नीति कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै नेपालका जडीबुटी, योग र आयुर्वेदलाई वैज्ञानिक अनुसन्धान र अन्तर्राष्ट्रिय ब्रान्डिङमार्फत विश्व बजारमा प्रवर्द्धन गर्न सकिने तथा उत्पादनमूलक उद्योग स्थापना गरेर युवाको विदेश पलायन रोक्नुपर्ने उनको सुझाव छ ।
उनका अनुसार यी क्षेत्रहरूमा स्पष्ट नीति, दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन भएमा नेपाललाई सुरक्षित, समृद्ध र आत्मनिर्भर राष्ट्र बनाउने आधार तयार हुन सक्छ ।