
दोहा कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको छैटौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । फागुन ५ गते मंगलबार म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा सम्पन्न आन्तरिक महाधिवेशनबाट मिम पुर्जा (नेदरल्यान्ड) को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष पुर्जा म्याग्दीको मङ्गला गाउँपालिका ३ बरंजामा जन्मिएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनका कारण प्रवासबाट बेनीमा जम्मा भएकाहरूको मात्र सहभागितामा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा क्रमशः किसान जिसी (युके) राम खड्का र दीपक केसी (जापान) चयन भएका हुन् । कार्यसमितिको महासचिवमा सुवास राम्जाली मगर (युएई) निर्विरोध चयन भएका छन् भने कोषाध्यक्षमा नरेन्द्र फगामी (कतार) पुन दोहोरिएका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवम् मोनाका संरक्षक योगेन क्षेत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

निर्वाचन आचारसंहिताका कारण त्यो समयमा निर्वाचित कार्यसमितिको नाम सार्वजनिक गर्न सम्भव नभएको हुँदा मोनाले आइतबार पहिलो बैठक सम्पन्न गर्दै सोमबार नयाँ टिमको सूची सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नामावली अनुसार रिक्त पदहरूमध्ये उपाध्यक्षमा ई. नन्द गर्बुजा (युएई), हरि रामजाली (अस्ट्रेलिया), लाई चयन गरिएको छ । त्यसैगरी सचिवहरू दीपु मगर (पोर्चुगल), सुवास दूतराज (क्यानडा), स्तुति सुवेदी (युके), सह–कोषाध्यक्ष पूर्ण रोका (मलेसिया), युवा संयोजक प्रेम सुवेदी (अमेरिका), महिला संयोजक नैना पुन (बेल्जियम) रहेका छन् । महाधिवेशन मोनाका अध्यक्ष ददिवल खड्काको अध्यक्षता तथा मोनाका संस्थापक संरक्षक सुवास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । महाधिवेशनमा मोनाका गतिविधि समेटिएको मोना बुलेटिन विमोचन गरिएको थियो भने महाधिवेशनलाई कोषाध्यक्ष नरेन्द्र फगामीले सहजीकरण गरेका थिए ।
आइतबारको पूर्ण कार्यसमितिको बैठकले १३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने समितिका उपाध्यक्ष नन्द गर्बुजालाई विधान संशोधन समितिको संयोजक तोकिएको छ । बैठकले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन मार्फत म्याग्दी जिल्लाबाट निर्वाचित भएका महावीर पुनलाई बधाई समेत ज्ञापन गरेको छ ।