२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो : नगरप्रमुख श्रेष्ठ

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ फागुन ३० गते २०:५५
Shares
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो : नगरप्रमुख श्रेष्ठ

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले निर्माण गरेका पाँच वटा वडा कार्यालयका प्रशासनिक सेवा अब नव–निर्मित आधुनिक तथा सुविधा सम्पन्न भवनबाट सञ्चालनमा आएका छन् । वडा नम्बर ५ को वाङला, वडा नम्बर ६ को भुतडाँडा, वडा नम्बर ७ को फज्र्याङखोला, वडा नम्बर ८ को पकले र वडा नम्बर १२ को डिभर्नामा निर्माण सम्पन्न भएका नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरिएको हो ।

एक समारोहकाबीच वडा नम्बर ७ फर्ज्याङखोलास्थित नयाँ भवनबाट नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले औपचारिक रूपमा सेवा सञ्चालनको घोषणा गरेका थिए । श्रेष्ठले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउन पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको बताए। उनले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धताहरू क्रमशः कार्यान्वयन गर्दै जाने नगरपालिकाको नीति रहेको उल्लेख गर्दै अब सेवा प्रवाहको गुणस्तर अझ सुधार गर्दै नागरिकलाई छिटो र सहज सेवा उपलब्ध गराउन वडा कार्यालयहरूलाई आग्रह गरे । नगरप्रमुख श्रेष्ठले सन्धिखर्क नगरपालिकाले समग्र विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले नगरभित्र धेरै सडकहरू कालोपत्रे सम्पन्न भएका छन् भने खानेपानी आयोजनाहरू निर्माण सम्पन्न भइ सञ्चालनमा आएका छन् । 

बजारदेखि गाउँसम्म सडक बत्ती र हाईमास्ट लाइट जडान गरिएकाले जताततै नगर क्षेत्र झिलिमिली बनेको छ । नगरपालिकाले आन्तरिक पर्यटन प्रवर्धनलाई समेत विशेष ध्यान दिएको जनाउँदै नगरप्रमुख श्रेष्ठले सुपादेउराली मन्दिरको भेटी व्यवस्थापनलाई पारदर्शी बनाइएको र अर्घा भगवती मन्दिर क्षेत्रमा पर्यटक आकर्षित गर्ने योजनाहरू अघि बढाइएको दाबी गरे । कार्यक्रममा उपप्रमुख मिश्रा आचार्यले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, बेरुजु घटाउने र मुस्कानसहितको सेवा प्रवाह गर्ने अभियानलाई नगरपालिकाभित्र प्राथमिकताका साथ अगाडि बढाइएको पनि जानकारी दिइन् । भुसिया कुकुर नियन्त्रणका लागि पहल गरिएको, उत्पादनको आधारमा कृषि अनुदान उपलब्ध गराइने नीति ल्याइएको, जिल्ला अस्पताललाई सहयोग गर्ने र शैक्षिक क्षेत्र सुधारका लागि विशेष अभियान सञ्चालन गरिएको पनि नगरउप्रमुख आचार्यले बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार नगरपालिकासँग भएको ठेक्का सम्झौता बमोजिम नयाँ नेपाल निर्माण सेवाले ७ करोड ४५ लाख रुपैयाँको लागतमा वडा बासिको चाहाना अनुसार सुविधा सम्पन्न भवन निर्माण सम्पन्न गरेको हो । समयमै निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गरेको भन्दै निर्माण कम्पनीका सञ्चालक तथा युवा निर्माण व्यवसायी अर्जुन खनाल र नारायण आचार्यलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। वडा नम्बर ७ का अध्यक्ष चुराबहादुर केसीका अनुसार भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने सीता केसी, धनबहादुर केसी र तेजबहादुर मल्ललाई समेत दोसल्ला, माला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ । कार्यक्रम वडा सचिव सीता विसीले सञ्चालन गरेकी थिइन् । 

ताजा खबर

सम्बन्धित खबर