२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

स्थायी दरबन्दीबिना चलिरहेको अर्घाखाँची जिल्ला अस्पताल सुधार्न डा. तिवारीको प्रयास जारी

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ चैत १ गते २१:१४
Shares
स्थायी दरबन्दीबिना चलिरहेको अर्घाखाँची जिल्ला अस्पताल सुधार्न डा. तिवारीको प्रयास जारी

अर्घाखाँची : अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको प्रमुख सरकारी स्वास्थ्य संस्था जिल्ला अस्पताल अहिले विशेषज्ञ जनशक्ति अभाव र कमजोर भौतिक पूर्वाधारका कारण गम्भीर चुनौतीको सामना गरिरहेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा दिन नसकेको अस्पतालका चिकित्सकहरू बताउँछन् । 

जिल्लाको मुख्य सरकारी अस्पताल भए पनि यहाँ ९ जना स्थायी विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको छ । तर हाल अस्पताल प्रमुख डाक्टर जगन्नाथ तिवारी बाहेक अन्य स्थायी विशेषज्ञ चिकित्सक छैनन् । अस्पतालमा कार्यरत एमडीजिपी विशेषज्ञ डाक्टर खगेन्द्र आचार्य लगायतका चिकित्सकले सामान्य शल्यक्रियासमेत गरिरहेका छन् । 

विशेषज्ञ चिकित्सक अभावका कारण जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि बुटवल वा पाल्पा रिफर गर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरू बताउँछन् । सामान्य शल्यक्रिया जिल्लामै भए पनि स्त्रीरोग, बालरोग तथा आन्तरिक रोगसम्बन्धी जटिल उपचारका लागि बिरामीहरूलाई जिल्लाबाहिर जानुपर्ने अवस्था छ ।

यस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि अस्पताल प्रमुख डाक्टर तिवारीसहितका चिकित्सकले सेवा सुधार र व्यवस्थापनलाई प्राथमिकता दिँदै दिनरात खटिएको अस्पताल पुगेका बिरामीहरू बताउँछन् । सीमित स्रोतसाधन र जनशक्ति अभावका बाबजुद पनि अस्पताललाई व्यवस्थित बनाउने प्रयास जारी रहेको छ । अस्पतालमा उपलब्ध सेवा विस्तार, व्यवस्थापन सुधार तथा सकेसम्म बिरामीलाई जिल्लामै उपचार उपलब्ध गराउने प्रयास भइरहेको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पतालको मुख्य समस्या भनेको पर्याप्त जनशक्ति र पूर्वाधार अभाव नै रहेको भन्दै कर्मचारीहरूले अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालको ध्यानाकर्षण गराएका छन् । अस्पताल निरीक्षण तथा सम्मान कार्यक्रममा पुगेका सांसद भुसाललाई चिकित्सकहरूले अस्पताल भवन साँघुरो भएको, स्वास्थ्य उपकरण अभाव रहेको तथा वार्ड व्यवस्थापन र सेवा विस्तारका लागि आवश्यक संरचना र दरबन्दी नभएकाले समस्या भइरहेको जानकारी गराएका थिए ।

जिल्ला अस्पताललाई ५० शय्याको दरबन्दीमा स्तरवृद्धि गर्न सकेमा धेरै समस्या समाधान हुने सरोकारवालाको भनाइ छ । यसका लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयबाट निर्णय आवश्यक रहेको बताइएको छ ।

अर्घाखाँचीका नागरिकहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई अस्पतालको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएमा ५० शय्याको दरबन्दी स्वीकृत हुन सक्ने सम्भावना रहेको स्थानीयको विश्वास छ ।

मुख्यमन्त्री आचार्य नियुक्त भएको करिब डेढ वर्ष बितिसक्दा पनि अर्घाखाँची अस्पतालमा विशेषज्ञ चिकित्सकको स्थायी व्यवस्था हुन नसकेको भन्दै जिल्लाबासीले असन्तुष्टि व्यक्त गरेका छन् । नागरिकहरू भन्छन्,‘कम्तीमा प्रमुख विशेषज्ञ सेवा उपलब्ध हुने गरी चिकित्सक पठाइयोस् र अस्पताललाई क्रमशः स्तरोन्नति गरियोस् ।’ 

कर्मचारीहरूको गुनासो सुनेपछि सांसद भुसालले अस्पतालको स्तरवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आवश्यक जनशक्ति व्यवस्थापन, विशेषज्ञ सेवा विस्तार तथा पूर्वाधार सुधारका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताए ।

स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भए पनि अर्घाखाँचीका नागरिक अझै गुणस्तरीय उपचारबाट वञ्चित हुन बाध्य छन् । विशेषज्ञ चिकित्सक अभाव, पर्याप्त दरबन्दी नहुनु, अस्पताल भवनको कमी तथा सीमित स्रोतसाधनका कारण जिल्लाको स्वास्थ्य सेवा प्रणाली कमजोर बनेको हो । 

अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सक पठाउने, आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तथा नयाँ भवन निर्माण प्रक्रिया अघि बढाउन ढिलाइ नगर्न सांसद भुसालको ध्यानाकर्षण गराइएको एक कर्मचारीले बताए । 

सम्बन्धित खबर