
अर्घाखाँची : पछिल्लो समय गाउँघरमा रैथाने गाई पाल्ने चलन घट्दै जाँदा स्थानीय जातका गाई लोप हुने खतरा बढिरहेको छ । यही चुनौतीलाई ध्यानमा राख्दै सन्धिखर्क नगरपालिका–१ ले स्थानीय स्तरमै रैथाने गाई संरक्षण अभियान सुरु गरेको छ ।
कृषि तथा पशु प्रवर्धन कार्यक्रमअन्तर्गत वडाभित्र रैथाने गाई पाल्ने कृषकलाई विभिन्न आवश्यक सामग्री वितरण गरिएको हो । वडाले केही समयअघि सूचना जारी गरी स्थानीय गाई पाल्ने कृषकबाट निवेदन माग गरेको थियो । प्राप्त निवेदन र प्राविधिक मूल्यांकनका आधारमा छनोट भएका २१ जना कृषकलाई दाना खुवाउने भाँडा, दूध दुहुने बाल्टी, दाना पकाउने डेक्ची, भिटामिन, मिनरल, लिभर टोनिक ट्याब्लेट, जुका तथा माटे नियन्त्रणका औषधि लगायतका सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष माधव श्रेष्ठका अनुसार स्थानीय जातका गाई संरक्षण र उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषकलाई प्रोत्साहनस्वरूप यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
उनले भने,‘स्थानीय गाई लोप हुने क्रम बढेको छ । पाका पुस्ताबाट पनि संरक्षणका लागि माग आएपछि चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कार्यक्रम समावेश गरेर कार्यान्वयन गरेका हौं ।’
वडामा रैथाने गाई पाल्ने किसानहरूको संख्या घट्दै जाँदा भविष्यमा पूर्ण रूपमा लोप हुने जोखिम देखिएको भन्दै वडाले विशेष संरक्षण कार्यक्रम ल्याएको उनले बताए । स्थानीय गाई केवल कृषि उत्पादनको स्रोत मात्र नभई धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । हिन्दु धर्म संस्कारमा गाईको दूध, गहुँत (मूत्र) र गोबर विभिन्न धार्मिक कार्यमा आवश्यक पर्ने भएकाले रैथाने गाई संरक्षणले धर्म र संस्कृतिको जगेर्नामा समेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
नरपानीका स्थानीय कृषक ओमबहादुर थापाका अनुसार स्थानीय गाई बिक्री गर्दा उचित मूल्य नपाइने र नयाँ पुस्ता कृषि तथा पशुपालनप्रति आकर्षित नहुँदा रैथाने गाई संकटमा परेको छ ।
उनले भने,‘स्थानीय गाई संरक्षणका लागि देशव्यापी अभियान आवश्यक छ । सन्धिखर्क–१ ले थालेको अभियान अरू स्थानले पनि अनुसरण गर्न जरुरी छ ।’
गाईको दूध मानव स्वास्थ्यका लागि पौष्टिक मानिन्छ भने गहुँत र गोबर धार्मिक तथा वैज्ञानिक रूपमा पनि उपयोगी मानिन्छ । त्यसैले धर्म, संस्कृति, स्वास्थ्य र जैविक कृषि प्रणालीको संरक्षणका लागि रैथाने गाई जोगाउनु आजको आवश्यकता भएको स्थानीयको भनाइ छ ।