
अर्घाखाँची : पछिल्लो समय बढ्दो वन डढेलोको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शितगंगा नगरपालिकामा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना तथा समृद्धिका लागि वन परियोजना लुम्बिनी प्रदेशको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ वन अधिकृत गणेश चौधरीले जानकारी दिए । कार्यक्रममा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सामुदायिक वनका पदाधिकारी तथा वन क्षेत्रका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालाले ‘वन रहे जीवन रहन्छ’भन्ने सन्देशलाई आत्मसात गर्दै वनजंगल संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरे । उनले वनमा आगो लगाउनु दण्डनीय अपराध भएको भन्दै यस्ता गतिविधि रोक्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेलले वन डढेलोका कारण जैविक विविधता र वातावरणमा अपूरणीय क्षति भइरहेकाले यसको नियन्त्रणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा उपप्रमुख गिता भाटले वन डढेलोनियन्त्रका लागि डिभिजन वन कार्यलयले देखाएको तदारुकता प्रशंसायोग्य भएको बताइन् । उनले डढेलोका कारण अहिले नेपालमा दीर्घकालीन रूपमा मानव जीवनमै असर पार्ने खतरा बढाएको जिकिर गरिन् ।
कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानीजानी वनमा आगो लगाउने व्यक्तिहरूको पहिचान गरी कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले डढेलोलाई वातावरणीय अपराध मात्र नभई मानव सभ्यताकै लागि खतरा भएको उल्लेख गर्दै समुदायस्तरबाट निगरानी बढाउन आग्रह गरे । कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिवस बहादुर जिसी, सशस्त्र प्रहरी नायब उपरीक्षक योगप्रसाद दाहाल, स्थानीय जनप्रतिनिधि सुरक्षा निकाएका स्थानीय पदाधिकारीहरुले वन क्षेत्रमा हुने आगलागी, चोरी निकासी तथा अवैध गतिविधि नियन्त्रणका लागि संयुक्त अनुगमन, निरीक्षण र निगरानीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सिनियर डिभिजन वन अधिकृत नारायण देव भट्टराईलेले ड्रोन क्यामेरामार्फत निगरानी, सारंगी गीतमार्फत जनचेतना तथा समुदायको सक्रिय सहभागिताका कारण अर्घाखाँचीमा डढेलोका घटनामा विगतको तुलनामा कमी आएको बताए ।
उनले बढ्दो गर्मी र सुख्खा मौसमसँगै जोखिम अझै उच्च रहने भएकाले यस्ता अभियानलाई निरन्तरता दिइने समेत जानकारी दिए ।
कार्यक्रममा वन डढेलो नियन्त्रण अब कुनै एक निकायको मात्र जिम्मेवारी नभइ साझा अभियान बनेको स्थानीय उपस्थित जनप्रतिनिधिले बताए । वन डढेलोको जोखिमलाई न्यूनीकरण गर्न ड्रोन अनुगमन सुरु गरिएको बारे अन्तक्र्रिया कार्यक्रममा जानकारी गराइएको थियोे । आधुनिक प्रविधिको प्रयोगमार्फत नियन्त्रण र पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले ड्रोन अनुगमन सुरु गरिएको सूचना अधिकारी केशव खड्काले जानकारी दिएका थिए ।
वन क्षेत्रमा हुने सम्भावित आगलागीको समयमै पहिचान, क्षतिको यथार्थ मूल्यांकन तथा आगो लागेपछि त्यसको स्रोत पहिचान गर्न पनि ड्रोनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको वरिष्ठ वन अधिकृत गणेश चौधरीले बताए ।
विशेषगरी, आगलागी कसले र कसरी गर्यो भन्ने विषयमा स्थानीय तह, सुरक्षा निकाय, वन कार्यालय डिभिजन वन कार्यलय सामुदायिक वनका पदाधिकारी र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै अनुगमन, निरीक्षण र प्रविधिमैत्री निगरानी विस्तार गर्न सके मात्रै डढेलो नियन्त्रण प्रभावकारी बन्ने सामुदायिक वनका पदाधिकारीहरुको भनाइ छ । कार्यक्रम डिभिजन वन अधिकृत नारायणदेव भट्टराईको अध्यक्षता डिभिजन वन कार्यलयका सूचना अधिकारी केशव खड्काको सञ्चालनमा सम्पन्न भएको हो ।