२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

दुई दशकको प्रतीक्षा अन्त्य : झिमरुक–लुङ तटीय बस्ती अब सडक सञ्जालमा

shivam cement
मधुसुदन भण्डारी
२०८२ चैत ६ गते १५:३३
Shares
दुई दशकको प्रतीक्षा अन्त्य : झिमरुक–लुङ तटीय बस्ती अब सडक सञ्जालमा

प्यूठान : प्यूठानका झिमरुक र लुङ नदीले छुट्याएका तटीय बस्ती अब स्थायी रूपमा मुख्य सडक सञ्जालसँग जोडिने चरणमा पुगेका छन् । किटघाट (कुटिचौर), दोभै र मच्छी–पिडाल्नेमा निर्माणाधीन तीनवटा पक्की पुलको काम तीव्र गतिमा अघि बढेसँगै वर्षौँदेखि भोग्दै आएको आवागमन समस्या समाधानतर्फ उन्मुख भएको हो ।

वाग्दुला–मच्छी र वाग्दुला–बाहाने सडकको विपरीत किनारमा रहेका स्थानीयहरू सडक पुगे पनि नदीमा पुल अभावका कारण सवारी साधन प्रयोग गर्नबाट वञ्चित थिए । अहिले पुल निर्माण अन्तिम चरणमा पुगेपछि ती क्षेत्रका बासिन्दा प्रत्यक्ष रूपमा सडक सञ्जालसँग जोडिने भएका छन् ।

किटघाट (कुटिचौर) पुलको निर्माण २०८१ असार ७ गते ४ करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता भई सुरु गरिएको थियो । निर्माण कम्पनी आशु निर्माण सेवा (बालाजु श्रेष्ठ)ले निर्धारित समयअघि नै पुल सम्पन्न गरेको जनाएको छ । कम्पनीका अनुसार मच्छी–पिडाल्ने पुल पनि असारभित्रै सक्ने लक्ष्यसहित काम भइरहेको छ, जसको लागत ७ करोड २६ लाख रुपैयाँ रहेको छ ।

यी पुलहरूले विशेषगरी तुषारा बेँसी क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउनेछन् । यसअघि नदीपारि सवारी सञ्चालन भइरहे पनि त्यहाँ पुग्न झोलुङ्गे पुलको भर पर्नुपर्ने बाध्यता थियो ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत किटघाट, पिडाल्ने र दोभै पुल निर्माणका लागि करिब ३१ करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त योजना प्रदेश सांसद निमा गिरीको पहलमा अघि बढाइएको बताइएको छ । बजेटअनुसार किटघाट पुलका लागि करिब ७ करोड तथा पिडाल्ने र दोभै पुलका लागि करिब ११/११ करोड रुपैयाँ छुट्याइएको थियो ।

हाल किटघाट पुल पूर्ण रूपमा सम्पन्न भइसकेको छ भने पिडाल्ने पुलको करिब ८५ प्रतिशत र दोभै पुलको झण्डै ५० प्रतिशत काम सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । दोभै पुल तयार भएपछि वाग्दुला–बाहाने सडकपारिका दोभैदेखि पिपलटारीसम्मका बासिन्दाले सहज लाभ लिनेछन् भने बाहाने–मच्छी सडकसमेत सिधै जोडिनेछ ।

दुई दशकअघि नै प्रस्ताव गरिएका यी पुलहरू बजेट अभावका कारण कार्यान्वयनमा आउन सकेका थिएनन् । अब निर्माण अघि बढेसँगै बाहानेबाट मच्छी र तुषारा पुग्न वाग्दुला हुँदै घुम्नुपर्ने करिब ११ किलोमिटर दूरी छोटिनेछ । वर्षायाममा समेत सहज आवागमन हुने अपेक्षाले स्थानीयमा उत्साह थपिएको छ ।

पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलका अनुसार पुल निर्माणको अवधारणा पहिल्यै तयार भए पनि स्रोत अभावले कार्यान्वयनमा ढिलाइ भएको थियो । प्रदेश सरकारले बजेट सुनिश्चित गरेपछि मात्र योजना अघि बढेको उनले बताए ।

यसैबीच, वाग्दुला–मच्छी सडकका लागि ३५ करोड र वाग्दुला–अधेरी सडक कालोपत्रे गर्न १२ करोड रुपैयाँ विनियोजन भई काम भइरहेको छ । प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले निर्धारित समयभित्रै सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् । उनले पुल र सडक निर्माणको प्रगति अनुगमन गर्दै सम्बन्धित सबै पक्षलाई धन्यवादसमेत दिएका छन् ।

स्थानीयका लागि यी तीन पुल केवल पूर्वाधार मात्र नभई कृषि उत्पादनको बजार पहुँच, शैक्षिक तथा स्वास्थ्य सेवामा सहजता, व्यापारिक गतिविधि विस्तार र आपतकालीन सेवासम्मको पहुँच बढाउने महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर