
अर्घाखाँची : अर्घाखाँचीमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले सन्धिखर्क नगरपालिका सभाहलमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्थानीय तह, सरकारी निकाय, निजी क्षेत्र सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला, उद्योगी, व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा आर्थिक गणनाको महत्व, यसको कार्यान्वयन प्रक्रिया, तथ्यांक संकलनका विधिहरू र अपेक्षित उपलब्धिहरूबारे गहन छलफल गरिएको सहायक गणना अधिकृत दिलिप केसीले जानकारी दिए ।
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिले आर्थिक गणनालाई देशको समग्र विकासको आधारका रूपमा व्याख्या गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख कोइरालाले आर्थिक गणनाले देशको आर्थिक अवस्थाका बारेमा नागरिकहरुले जानकारी पाउने भएकोले सबै नागरिक यसलाई सफल बनाउन लाग्नुपर्ने बताए ।
राष्ट्रिय आर्थिक गणना २०८२ ले हाम्रो जिल्लाको वास्तविक आर्थिक अवस्था उजागर गर्ने कोइरालाको भनाइ छ ।
यसबाट प्राप्त तथ्यांकका आधारमा दिगो र प्रभावकारी विकास योजना निर्माण गर्न सहज हुने कोइरालाको दाबी छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले तथ्यांक संकलनमा यथार्थता अनिवार्य हुनुपर्नेमा जोड दिए । स्थानीय तहको नीति, योजना र बजेट निर्माण यथार्थपरक तथ्यांकमै आधारित हुन्छ । त्यसैले आर्थिक गणनामा वास्तविक अवस्था झल्किनुपर्ने श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापाले आर्थिक गणना गर्ने नेपाल सरकारको निर्यण स्वागतयोग्य रहेको बताए ।
कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आर्थिक गणाना सफल बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेको बताए ।
सुवेदीले भने ‘यो केवल तथ्यांक संकलन मात्र होइन, जिल्लाको भविष्य निर्माण गर्ने अभियान हो,’ त्यसैले सबै निकायको सहभागीता जरुरी छ ।
कार्यक्रममा आर्थिक गणना कार्यालय अर्घाखाँचीका प्रमुख बाबुराम न्यौपानेले आर्थिक गणना सफल बनाउन सबै क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे ।
सही तथ्यांक संकलन बिना विकासको सही मार्गचित्र तयार हुन सक्दैन । त्यसैले सबै सरोकारवाला निकायको सहकार्य आवश्यक भएको छ ।
न्यौपानेले आर्थिक गतिविधिसम्बन्धी तथ्यांक भविष्यका योजना निर्माणको मेरुदण्ड हुने भन्दै यस अभियानलाई गम्भीरतापूर्वक लिन आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले गणनालाई सफल बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।
आर्थिक गणना सफल बनाउन जनस्तरमा स्पष्ट सूचना पुग्नुपर्छ सञ्चार माध्यमले जनविश्वास बढाउने काम गर्नका लागि कार्यालयले मिडिया परिचालन गर्नुपर्ने उनले बताए ।
कार्यक्रम सञ्चालन सहायक आर्थिक गणना अधिकारी दिलिप केसीले गरेका थिए । राष्ट्रिय आर्थिक गणना २०८२ ले अर्घाखाँची जिल्लाको वास्तविक आर्थिक अवस्थाको स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा जिल्लावासीले गरेको कार्यक्रमका सहभागी व्यवसायीहरुको भनाइ छ ।
आर्थिक गणनाले उत्पादन, व्यापार, सेवा र रोजगारीका क्षेत्रहरूको यथार्थ विवरण उपलब्ध गराउँदै दीर्घकालीन विकास रणनीति निर्माणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको उद्योग वाणिज्य सघका अध्यक्ष प्रदीप मिश्रको भनाइ छ ।
यस अभियानले स्थानीय स्तरमा आर्थिक गतिविधिहरूको पहिचान गर्दै स्रोत–साधनको सही उपयोग, रोजगारी सिर्जना र समावेशी विकासमा सहयोग पुर्याउने अपेक्षा आफुहरुले लिएको निर्माण व्यवसायी संघका अध्यक्ष बसन्त भुसालले प्रतिक्रिया दिए ।
साथै, नागरिक सहभागिता र पारदर्शिता अभिवृद्धि गर्दै सामाजिक अग्रसरता बढाउने महत्वपूर्ण अवसरको रूपमा पनि आर्थिक गणनालाई हेरिएको एक जनप्रतिनिधिले बताए ।