
अर्घाखाँची : सन्धिखर्क नगरपालिका ७ ले गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गर्दै पौष्टिक आहार वितरण गरेको छ । सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा कुखुराको भालेसहित विभिन्न पोषण सामग्री हस्तान्तरण गरेपछि लाभग्राही महिलाहरू खुसी भएका छन् ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष चुराबहादुर केसीले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै पोषण सामग्री वितरण गरिएको बताए । उनले स्थानीय सरकारले नागरिकप्रति अपनत्व देखाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै गर्भवती तथा सुत्केरी महिलाको पोषण र स्वास्थ्य सुनिश्चित गर्नु स्थानीय तहको जिम्मेवारी भएको बताए ।
अध्यक्ष केसीले गर्भवती महिलामा पोषणको कमी हुन नदिन तथा नियमित स्वास्थ्य परीक्षणमार्फत बाल मृत्युदर र मातृ मृत्युदर न्यूनीकरण गर्न आफू निर्वाचित भएदेखि नै कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको दाबी गरे ।
उनले आगामी दिनमा यस कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरे । सन्धिखर्क–७ को यो पोषण प्याकेज अभियान विशेषगरी अतिविपन्न तथा असहाय परिवारका लागि वरदान सावित भएको स्थानीय निर्मल शाहले बताए ।
स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएका प्रतिबद्धताअनुसार वडा अध्यक्षमा निर्वाचित भएदेखि नै भविष्यमा जन्मिने शिशु स्वस्थ होस् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गर्दै पोषण वितरण कार्यक्रम सुरु गरिएको अध्यक्ष केसीले जानकारी दिए । उनका अनुसार, सुत्केरी अवस्थामा अतिविपन्न परिवारका महिलाले पोषिलो आहार नपाउँदा शिशुमा कुपोषण हुने र आमाको स्वास्थ्यमा समेत समस्या आउने जोखिम हुन्छ । ‘त्यसलाई न्यूनीकरण गर्न थोरै भए पनि सहयोग गरौं भन्ने उद्देश्यले कार्यक्रम सुरु गरेका हौं,’ उनले भने, ‘अहिले यो निकै प्रभावकारी बन्दै गएको छ ।’ पोषण सामग्री पाएपछि महिलाहरूको अनुहारमा देखिएको खुसीले आफूलाई सन्तुष्टि मिलेको पनि उनले बताए । पोषण सामग्री लिन पुगेकी सेवाग्राही सरिता घिमिरेले वितरण गरिएको सामग्री पर्याप्त नभएपनि स्थानीय सरकारबाट सहयोग पाउँदा खुसी लागेको बताइन् ।
खाँचीकोट स्वास्थ्य चौकीका प्रमुख प्रेमचन्द विकका अनुसार स्वास्थ्य चौकीमार्फत गर्भवती तथा सुत्केरी महिलालाई पोषण आहारसँगै खोप सेवा, आधारभूत स्वास्थ्य सेवा तथा भिडियो एक्सरे लगायतका सुविधा प्रदान गरिँदै आएको छ । उनले यस्ता कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउन, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन तथा कुपोषण न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
वडाको वार्षिक कार्यक्रमअनुसार करिब ३७ जना गर्भवती तथा सुत्केरी महिलालाई कुखुराको भाले, सागको मुठा, अण्डा तथा क्यारेट वितरण गरिएको वडा सचिव सीता बिसी पराजुलीले जानकारी दिइन् ।
कार्यक्रममा वडा सदस्य डुकलाल पोखरेल, पुष्पा नेपाली, महिला स्वास्थ्य स्वयंसेविका तथा सञ्चारकर्मी अनिल नेपालीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडाध्यक्ष केसीको अध्यक्षता, सचिव पराजुलीको सञ्चालन तथा स्वास्थ्य चौकी प्रमुख विकको विषय प्रस्तुतीकरणमा सम्पन्न भएको थियो ।