२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कपिलवस्तु आधारभूत अस्पताल : कार्यालय सहयोगीले दिन्छन् बिरामीलाई औषधि

ADV
शहबाज खान
२०८१ साउन १९ गते २०:३५
कपिलवस्तु आधारभूत अस्पताल : कार्यालय सहयोगीले दिन्छन् बिरामीलाई औषधि

कपिलवस्तु : कपिलवस्तुको आधारभूत अस्पतालमा कार्यालय सहयोगीले बिरामीलाई औषधि वितरण गरेको पाइएको छ । जिल्लाको यशोधरा गाउँपालिकामा सञ्चालित आधारभूत अस्पताल बैदौलीका कार्यालय सहयोगीहरुले औषधि वितरण गरिरहेको पाइएको हो । 

अस्पतालमा कर्मचारीको अभावले कार्यालय सहयोगी शैलेन्द्र पाठक र श्रीराम यादवले बिरामीहरुलाई औषधि वितरण गर्दै आएको स्थानीयले बताएका छन् । गाउँपालिकाले जनताको मर्म बुझि आधारभूत अस्पतालको स्थापना गरेपनि व्यवस्थित नहुँदा नागरिकको स्वास्थ्य जस्तो गम्भीर विषयमा चरम लापरबाही देखिएको छ । 

नागरिकले पाउने आवश्यक सेवा–सुविधा समेत गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन । 

अस्पतालमा ३० जना कर्मचारीको दरबन्दी हुनुपर्नेमा जम्मा १६ जना कर्मचारी मात्र रहेका छन् । जसमध्ये ३ जना स्थायी कर्मचारी र १३ जना करारका कर्मचारी कार्यरत रहेको अस्पतालका इन्चार्ज दिपेद्र साहनीले बताए ।

अस्पतालमा फार्मसिस्ट नभएको कारणले अस्पतालमा लामो समयदेखि कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका शैलेन्द्र पाठक र श्रीराम यादवले डाक्टरले बिरामीहरुको पर्चामा औषधिको नाम लेखे अनुसार औषधि वितरण गर्न सहयोग गरेको उनले दाबी गरे । 

अस्पतालमा दरबन्दी अनुसार कर्मचारीको अभाव र १३ जना करार कर्मचारीहरुको असार महिनापछि करार सम्झौताको म्याद थप नहुँदा अस्पतालबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न निकै समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । उनीहरुले करार कर्मचारीको सम्झौता म्याद समेत अन्योलमा रहेको नाम नबताउने सर्तमा एक स्वास्थ्यकर्मीले बताए । 

यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले करारका कर्मचारीहरुको सम्झौताको म्याद थपिएको बताउँदै कर्मचारीहरु कामकाजमा खटिएको दाबी गरे । नागरिकको स्वास्थ्यलाई मध्येनजर गर्दै अस्पतालका सेवा–सुविधालाई थप व्यवस्थित गर्न गाउँपालिकाले छिट्टै ठोस कदम चाल्ने अध्यक्ष तिवारीको भनाइ छ । 

यता करारका कर्मचारीहरुले कारार सम्झौता म्याद थप गरिएको सम्बन्धमा कुनै पत्र प्राप्त नभएको बताउँछन् । सम्झौता पत्र नभएपछि अन्योलमा बस्दै आफ्नो कामकाजमा खटिइरहेको उनीहरुको गुनासो छ ।

ADVADV

सम्बन्धित खबर

Advertise