
बुटवल : रुपन्देहीको सिद्धार्थनगर (भैरहवा) क्षेत्रमा सञ्चालनमा रहेका टुर्स एण्ड ट्राभल्स हरुको अनुगमन तिव्र पारिएको छ । पर्यटन डिभिजन कार्यालयको नेतृत्वमा गरिएको स्थलगत अनुगमनले अधिकांश व्यवसाय अनुमतिविना सञ्चालन भइरहेको तथ्य उजागर गरेको पर्यटन डिभिजन कार्यलय भैरहवाले जनाएको छ ।
निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद भुसालको नेतृत्वमा गरिएको संयुक्त अनुगमन टोलीले अनुमति नलिने तर व्यवसाय गर्ने केही व्यवसायीलाई कानुनी दायरामा आउन निर्देशन दिएको हो ।
अनुगमनमा पर्यटन कार्यलयका वरिष्ठ अधिकृत मनमोहन ज्ञवाली, प्रहरी निरीक्षकहरु मानबहादुर वि.सी. र हरिराम डाँगी, सिद्धार्थनगर नगरपालिकाकी वरिष्ठ प्रशासन अधिकृत साधना पोख्रेल, नाटा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापा, सोट्टो लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय वजिमय लगायत सुरक्षाकर्मी तथा सरोकारवालाको टोलिले अनुगमन तिव्र पारेको हो ।
अनुगमनका क्रममा भैरहवा क्षेत्रका कम्तीमा १३ वटा टुर्स एण्ड ट्राभल्स कम्पनीमध्ये धेरैजसोले आवश्यक इजाजत नलिइ वा शाखा सञ्चालन अनुमति नलिइ व्यवसाय सञ्चालन गरिरहेको पाइएपछि ती व्यवसायीलाई कानुनी दायरामा आउन निर्देशन दिएको कार्यालय प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए ।
भुसालका अनुसार मोन्तेभियान्को एडभाञ्चर, प्रमिता टुर्स एण्ड ट्राभल्स, नमस्ते टुर्स एण्ड ट्राभल्स, लाइफ लाइन जर्नी, स्मार्ट ट्राभल्स, एयर विङ्गर, हेलो मिथिला लगायतका कम्पनीहरूलाई सात दिनभित्र आवश्यक अनुमति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिइएको हो ।
त्यस्तै, केही कम्पनीले आवश्यक कागजात कार्यालयमा उपलब्ध गराउन नसकेको, केहीले शाखा कार्यालय अनुमति बिना सञ्चालन गरेको र केहीले कुनै कारोबार नै नगरेको अवस्थामा पनि दर्ता कायम राखेको पाइएको वरिष्ठ अधिकृत ज्ञवालीले बताए ।
ओम ट्यूली नेपाल ट्राभल्स एण्ड टुर्स प्रा.लि.का दुई फरक शाखामा फरक–फरक प्रकृतिका समस्या देखिएको छ । एक शाखालाई यात्रु बिमा अनिवार्य गर्न निर्देशन दिइएको छ भने अर्को शाखालाई अनुमति बिना सञ्चालन गरेको भन्दै सचेत गराइएको अनुगमन अधिकृत ज्ञवालीको भनाइ छ ।
पर्यटन डिभिजन कार्यालयले ट्राभल्स व्यवसायलाई व्यवस्थित बनाउन र यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो अनुगमनलाई निरन्तरता दिएको कार्यालय प्रमुख भुसालले मध्यान्हलाई जानकारी दिए ।
विशेषगरी यात्रु बिमा, वैधानिक दर्ता, शाखा अनुमति र सेवा मापदण्ड पालना अनिवार्य गरिने भुसालले दाबी गरे । अनुगमनपछि सबै सम्बन्धित व्यवसायलाई सात दिनभित्र कार्यालयमा सम्पर्क राखी आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ । अन्यथा, कानुनी कारबाही अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।
भैरहवा जस्तो अन्तर्राष्ट्रिय आवागमनको मुख्य नाकामा यस प्रकारको अनियमितता देखिनु चिन्ताजनक भए पनि पछिल्लो कदमलाई पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने सकारात्मक प्रयासका रूपमा हेरिएको स्थानीय व्यवसायी दिपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार दीर्घकालीन रूपमा सेवा गुणस्तर सुधार गर्ने र यात्रुहरूमा विश्वास बढाउने अपेक्षा स्थानीयबासीले गरेका छन् ।