२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

गाउँ फर्किएर कृषिबाटै लाखौं आम्दानी

himalayanlife
सूर्यप्रसाद भुसाल
२०८२ चैत ११ गते २१:१७
Shares
गाउँ फर्किएर कृषिबाटै लाखौं आम्दानी

अर्घाखाँची : अर्घाखाँची जिल्लामा व्यावसायिक बाख्रा तथा कुखुरा पालनले नयाँ उचाइ लिँदै गएको छ । विदेशबाट फर्किएका र शिक्षित युवादेखि शिक्षकसम्मले कृषि पेशालाई अगाल्दै लाखौं आम्दानी मात्र होइन, गाउँमै रोजगारी सृजना गर्ने बाताबरण तयार गरिरहेका छन् ।

शीतगंगा नगरपालिका–१३, सिमलपानीका किसान विष्णुप्रसाद न्यौपाने वैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नै गाउँमा ‘नमुना कृषि तथा पशुपन्छी पालन फर्म’दर्ता गरी बाख्रा र कुखुरा पालनमा लागेका हुन् । हाल उनको फार्ममा ५०/६० वटा बाख्रा र करिब ५ हजार बोइलर कुखुरा छन् । 

उनले बाख्रा भन्दा कुखुरा पालनबाट बढी आम्दानी लिँदै वार्षिक १०–१२ लाख रुपैयाँ खर्च कटाएर आम्दानी गरिरहेका छन् । न्यौपानेले चार जनालाई प्रत्यक्ष र पाँच जनालाई अप्रत्यक्ष रोजगारी समेत दिएका छन् । करिब ७४ रोपनी क्षेत्रफलमा फैलिएको उनको फार्ममा घाँस खेती पनि गरिएको छ ।

यस्तै, शीतगंगा–६, जुकेनाका शिक्षक लक्ष्मण ओली पनि बाख्रापालनमा सफल उद्यमी बनेका छन् । विद्यालयमा अध्यापनसँगै उनले व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएका छन् । उनको फार्ममा हाल ७०/८० वटा बाख्रा छन्। एक वर्षमा बाख्रा तथा बोका बिक्रीबाट करिब १५ लाख रुपैयाँको कारोबार हुने गरेको छ भने सबै खर्च कटाएर ८ लाखभन्दा बढी बचत हुने गरेको उनले बताए । उनको फार्ममा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

एमएड उत्तीर्ण ओली र उनकी श्रीमती करुणा ओली (शिक्षिका)ले समाजमा उदाहरणीय काम गर्ने उद्देश्यले कृषि पेशा रोजेको बताएका छन् । त्यस्तै, शीतगंगा–१३ का टीका बहादुर रेश्मी पनि कृषि क्षेत्रमा सक्रिय छन् । २०७४ सालमा उपप्रमुख निर्वाचित भएका उनी २०७९ को निर्वाचनमा पराजित भएपछि व्यावसायिक खेतीतर्फ लागेका हुन् र अहिले राम्रो आम्दानी गर्दै आएका छन् । 

जिल्लामा करिब ५५ हजार माउ बाख्रा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । यहाँ उत्पादन भएका खसीबोका कपिलवस्तु, दाङ, रुपन्देही, काठमाडौं, पोखरालगायतका बजारमा बिक्री हुने गरेका छन् । 

शीतगंगा नगरपालिकाले उत्पादनमा आधारित खसीबोका बिक्रीमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिँदै आएको छ, जसले किसानलाई थप हौसला मिलेको छ ।

सरकारी तथा स्थानीय तहको सहयोग, उन्नत जातका बाख्रा, खोर निर्माण र घाँस खेती प्रवर्धनजस्ता कार्यक्रमका कारण अर्घाखाँचीमा व्यावसायिक बाख्रापालन तीव्र रूपमा विस्तार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन बाख्रापालनले महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

कृषि प्रधान देश नेपालमा यस्तो उदाहरणीय कामले अन्य युवालाई पनि गाउँमै फर्किएर केही गर्न प्रेरित गरेको छ । उचित योजना, मेहनत र स्थानीय स्रोतको सदुपयोग गरेमा कृषि पेशाबाटै सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देश अर्घाखाँचीका यी किसानहरूले दिएका छन् । 

सम्बन्धित खबर