अमेरिकी स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) बाट हट्ने नेपाल सरकारको निर्णयबारे उत्तरी छिमेक चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले नेपालले एसपीपीबाट पछि हट्ने निर्णय गर्नु प्रशंसनीय भएको जनाएको छ । एसपीपीमा नेपालको उच्च पहाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति रहने उल्लेख थियो । तर मन्त्रिपरिषद् बैठकबाटै नेपाल एसपीपीमा संलग्न नहुने निर्णय भएको छ । मन्त्रिपरिषदको निर्णयबाट एसपीपीबारेको संशय हटेको छ । यसअघि सन् २०१५ र २०१७ मा नेपाली सेनाले एसपीपीमा सहभागी हुनेबारे पत्र पठाएको थियो । त्यो पत्रको आधारमा सम्झौता अगाडि बढाउनेगरी प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमणबारे चर्चा भइरहँदा एसपीपीबाटै नेपाल पछि हटेको छ । नेपाल पछि हटेसँगै प्रधानमन्त्री देउवाको सम्भावित भनिएको अमेरिकी भ्रमण पनि रद्ध भएको छ ।
तर एसपीपीबारे चीन सरकारले बोल्नुलाई चासोका साथ हेरिएको छ । किनकि नेपाल सरकारको निर्णयबारे प्रशंसा वा आपत्तिमा कुनै पनि मुलुक देखिनुलाई स्वभाविक चासोका रुपमा हेर्न सकिन्छ । नेपाल सरकारले आफ्नो मुलुक र जनताको हितमा आवश्यक निर्णय लिन सक्छ । देशबारे निर्णय लिने सार्वभौम अधिकार देशको संसदलाई छ । तर अमेरिकी प्रस्ताव अगाडि नबढाउने निर्णयमा अमेरिकाले स्वागत वा आपत्तिले प्रतिक्रिया जनाउनुले अस्वभाविक आशंका उत्पन्न गराउँछ । यसअघि पनि अमेरिकीले एमसीसी अनुमोदन गराउन दबाव दिएको भन्दै चीनले पटकपटक बक्तव्य जारी गरेको थियो । अमेरिकीको बक्तव्यको खण्डनमा उत्रिएको अनुभव गर्न सकिनेगरी चीनले सक्रियता देखाएको थियो ।
चीन नेपालको उत्तर छिमेकी मुलुक हो । चीनसँग हाम्रो धेरै पुरानो सम्बन्ध छ । अशल छिमेक नीतिमा प्रतिबद्ध हुन आवश्यक छ । दक्षिण छिमेक भारत भन्दा चीनप्रति नेपाली विश्वास तुलनात्मक बढी देखिन्छ । त्यसको मुख्य आधार भनेको भारतजसरी नेपालको मामलामा चीनले नबोल्नु र अनावश्यक चासो नदेखाउनु हो । आन्तरिक मामलामा नबोल्ने चीनको नीतिप्रति देखिएको विश्वास कायम राख्नु आगामी समयका निम्ति पनि उचित हो । अमेरिकीले पनि अनावश्यक दबाव दिएमा मान्न नहुने नीतिमा नेपालभित्रै ठूलो मत छ, निर्णय पनि त्यसरी नै हुँदै आएको छ । यदि अमेरिकी गतिविधि चीनविरुद्ध नेपालबाट हुने तयारी भइरहेको छ भने त्यो पनि गलत हो, त्यसमा नेपालले पक्कै सचेतता अपनाउनेछ । अपनाउनुपर्नेछ । तर चीन र अमेरिकी सम्बन्धको नकारात्मक असर हाम्रोमा पर्नु हुन्न, मान्य हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies