२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

सल्लाको जंगल जोगाउन पानीका पोखरी

Nada
सूर्यप्रसाद भुसाल
२०८२ चैत १६ गते २०:५८
Shares
सल्लाको जंगल जोगाउन पानीका पोखरी

अर्घाखाँची : पछिल्लो समय बढ्दै गएको वन डढेलोको जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँचीमा सल्लाको जंगल जोगाउन साना–साना पानीका पोखरी निर्माण गर्ने अभियान सुरु गरिएको छ । सुक्खा मौसममा आगलागीको जोखिम उच्च हुने भएकाले यस्ता संरचनाले डढेलो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

ncell

डिभिजन वन कार्यालय अर्घाखाँची र स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्यमा हालसम्म जिल्लाभर ९ वटा पोखरी निर्माण सम्पन्न भएका छन् । तीमध्ये सन्धिखर्क नगरपालिकामा ३ वटा, भूमिकास्थान नगरपालिकामा ४ वटा र पाणिनी गाउँपालिकामा २ वटा पोखरी निर्माण गरिएको छ । साथै शितगंगा नगरपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा थप पोखरी निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

डिभिजन वन अधिकृत नारायण देव भट्टराईका अनुसार वन डढेलो नियन्त्रणका लागि संरचनात्मक उपाय आवश्यक भएकाले सल्ला वन क्षेत्रमा पानी स्रोत व्यवस्थापनमा विशेष ध्यान दिइएको हो । उनले आगामी दिनमा थप जोखिमयुक्त स्थानहरूमा पनि यस्ता पोखरी निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

पहाडी क्षेत्रमा रहेका सल्लाका वनहरू डढेलोको दृष्टिले अत्यन्त संवेदनशील मानिन्छन्। सुक्खा मौसममा सल्लाका पातहरू सजिलै सल्किने हुँदा सानो लापरवाहीले ठूलो आगलागी निम्त्याउन सक्छ । यस्तो अवस्थामा नजिकै पानीको स्रोत उपलब्ध हुँदा आगो नियन्त्रण गर्न सहज हुने विश्वासले यो अभियान अघि बढाइएको हो । 

बरिष्ठ वन अधिकृत गणेश चौधरीका अनुसार पानीको सहज पहुँचले डढेलो नियन्त्रणमा उल्लेखनीय सहयोग पु¥याउनेछ । हाल निर्माण भएका ९ वटा पोखरीसँगै थप ३ वटा पोखरी स्थानीय सामुदायिक वन समूहहरूले आफ्नै पहलमा निर्माण गरिरहेका छन् । 

बरिष्ठ वन अधिकृत सन्त थिङले यी पोखरीहरू डढेलो नियन्त्रणका साथै वन्यजन्तुका लागि पानीको स्रोत, जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न समेत उपयोगी हुने बताए ।

स्थानीय तहका सब–डिभिजन प्रमुखहरूले पनि अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । भूमिकास्थानका रामबहादुर घलाङले समुदायको सक्रिय सहभागिताले वन संरक्षणमा ठूलो योगदान पुगेको बताए भने पाणिनीका दीपक पाण्डेले स्थानीय स्तरमै समाधान खोज्ने प्रयासले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे । मालारानीका मनोज चौधरीले थप स्थानमा यस्ता संरचना विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।

डिभिजन वन कार्यालयले संरचनात्मक उपायसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । सर्वसाधारणलाई वन क्षेत्रमा आगो नलगाउन, ज्वलनशील वस्तु जथाभावी नफाल्न र डढेलो देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरिएको सूचना अधिकारी केशव खड्काले बताए । वन हाम्रो साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबैको समान जिम्मेवारी रहने भन्दै यस्ता दीर्घकालीन उपायले अर्घाखाँचीमा डढेलो नियन्त्रणमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर