
अर्घाखाँची : वन डढेलो नियन्त्रणका लागि आक्रमक तयारी थालेको छ । हरेक वर्ष डढेलोको चुनौती सामना गर्दै आएको कार्यालयले यस वर्षदेखि मिनी दमकल प्रयोगमा ल्याएर नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ ।
डिभिजन वन कार्यालयका प्रवक्ता वरिष्ठ वन अधिकृत केशव खड्काका अनुसार चैत लागेसँगै जिल्लाका करिब चार सय सामुदायिक, सरकारी तथा बस्ती नजिकका वन क्षेत्रमा आगलागीको जोखिम बढ्ने भएकाले तत्काल प्रतिक्रिया दिन सक्ने गरी २५ सय लिटर क्षमताको मिनी दमकल खरिद गरिएको हो । उनका अनुसार पहाडी भूगोल र साँघुरा सडकका कारण ठुला दमकल पुग्न नसक्ने स्थानमा पनि मिनी दमकल सहज रूपमा सञ्चालन गर्न सकिनेछ ।
अर्घाखाँचीका ६१ वडाका एक हजारभन्दा बढी सम्भावित जोखिम क्षेत्रमा पुगेर आगो नियन्त्रण गर्न सक्ने क्षमता भएको उक्त दमकलले प्रारम्भिक चरणमै आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । डिभिजन वन प्रमुख नारायण देव भट्टराईले जिल्लाको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यस्तो उपकरण भित्र्याइएको र यसले डढेलो नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वन क्षेत्रमा लाग्ने आगलागीको समयमै पहिचान गर्न कार्यालयले ड्रोन क्यामराबाट निगरानीसमेत सुरु गरेको छ । आकस्मिक आगलागी भएमा स्थान पहिचान गरी तत्काल दमकल र अग्नि नियन्त्रण दस्ता परिचालन गरिने बताइएको छ । कार्यालयले १० जनाको अग्नि नियन्त्रण दस्ता गठन गरी नियमित रूपमा तयारी अवस्थामा राखेको छ भने जिल्लाका झन्डै तीन दर्जन सामुदायिक वनले पनि आफ्नै दस्ता परिचालन गरेका छन् ।
डिभिजन वन कार्यालयका अनुसार विगतका वर्षमा डढेलोका कारण वन सम्पदा, जैविक विविधता, वन्यजन्तुको बासस्थान तथा मानव बस्तीमा ठूलो क्षति पुग्दै आएको थियो । तर पछिल्लो समय जनचेतना अभिवृद्धि, प्रचारप्रसार तथा निगरानी प्रणालीलाई सुदृढ बनाइएपछि डढेलोका घटनामा केही कमी आएको छ ।
सामुदायिक वन महासंघका अध्यक्ष मधु कुमार श्रेष्ठले प्रारम्भिक चरणमै आगो नियन्त्रण गर्न सकिएमा जनधनको क्षति न्यूनीकरण हुनुका साथै वन्यजन्तु संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने बताए ।
यसअघि सन्धिखर्क नगरपालिकाको एउटै दमकलले जिल्लाभर सेवा दिँदै आएको थियो । गर्मी याममा एकैपटक विभिन्न स्थानमा आगलागी हुँदा एउटै दमकल सबै ठाउँमा समयमै पुग्न नसक्ने समस्या रहँदै आएको अवस्थामा मिनी दमकलको प्रयोगले उक्त समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
डिभिजन वन कार्यालयले वन डढेलो नियन्त्रणका लागि जनचेतना कार्यक्रम, स्थानीय तहसँग सहकार्य र निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ ।