
अर्घाखाँची : वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशले अब कामको शैलीमै परिवर्तन ल्याउने गरी जनमुखी काम गर्न कर्मचारीलाई निर्देशन जारी गरेको छ ।
‘जनताले तुरुन्त अनुभूति गर्ने गरी काम गर्नुपर्छ’भन्ने सन्देश दिनेगरि मन्त्रालयका सचिव प्रमोद भट्टराईले कर्मचारी संयन्त्रलाई परिणाममुखी र जनमुखी कार्यसम्पादनतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् ।
लुम्बिनी प्रदेशको वन निर्देशनालयमा भरखरै पदस्थापन हुनु भएका नवआगन्तुक वन महानिर्देशक ईश्वरीप्रसाद पौडेलको स्वागत कार्यक्रममा बोल्दै भट्टराईले वन मन्त्रालय नागरिकसँग प्रत्यक्ष सरोकार जोडिएको मन्त्रालय भएकाले प्रभावकारी काम गर्न कर्मचारीलाई निर्देशन दिएको बताए ।
देशमा देखिएको नयाँ परिवेशले जनअपेक्षा असाध्यै उच्च बनाएको उल्लेख गर्दै सचिव भट्टराईले अब ढिलासुस्ती गर्ने कुनै ठाउँ नरहेको प्रष्ट पारे ।
‘जनताले हरेक कुराको परिणाम खेजेका छन्’ उनले भने, ‘सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउन कर्मचारी लाग्नुपर्छ ।’
विवादित वा जनभावना विपरितका काम नगर्न कर्मचारीलाई सचिव भट्टराईले सचेत बनाए ।
सबै मातहतका कार्यालयहरुलाई नमूना कार्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित उनले हरेक निर्णय र कार्यान्वयनमा जनहितलाई केन्द्रमा राख्न कर्मचारीलाई आग्रह गरे । वन क्षेत्रमा देखिँदै आएका चुनौतीहरूलाई सामना गर्दै जनप्रतिनिधि स्थानीय सरकारसँग मिलेर काम गर्न आग्रह गर्दै विशेषगरी गर्मीयाम नजिकिँदै गर्दा वन डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने, काठ तथा वन पैदावारको चोरी निकासी कडाइका साथ रोक्नुपर्ने र सम्पूर्ण प्रक्रियामा पारदर्शिता बढाउनुपर्ने आवश्यकता औंल्याए ।
मन्त्रालय मातहतका १४ वटै डिभिजन कार्यालयलाई डढेलो नियन्त्रणमा तदारुकता देखाउन भट्टराईले निर्देशन दिइएको बताए ।
काममा कुनै बहाना, ढिलासुस्ती वा अनावश्यक झन्झट सिर्जना गर्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिने उनको भनाइ छ ।
सेवाग्राहीले यस्तो समस्या भोग्नुपरेमा सिधैँ सचिव वा महानिर्देशकसम्म सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापनमार्फत वन क्षेत्रको सुधार र विस्तारमा जोड दिँदै रुख कटान, घाटगद्दी र बिक्री–वितरण प्रक्रियालाई सहज बनाउने योजना अघि सारेको छ ।
प्रदेश सरकार सञ्चालनमा वन क्षेत्रबाट प्राप्त राजस्वको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसलाई अझ व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य लिइएको भट्टराईले दाबी गरे । साथै, वन क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सामुदायिक वनलाई अझ जनमुखी बनाउने, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र वन चोरी निकासी पूर्ण रूपमा अन्त्य गर्ने दिशामा सबै पक्षको समन्वय आवश्यक रहेको छ ।
कार्यक्रममा वन महानिर्देशक ईश्वरीप्रसाद पौडेलले पनि वन संरक्षण, डढेलो नियन्त्रण र अवैध गतिविधि नियन्त्रणमा प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । उनले कर्मचारीबीच समन्वय बढाउँदै प्रविधिको प्रयोगमार्फत छिटो र प्रभावकारी सेवा प्रवाह गर्ने बताए ।