
अर्घाखाँची : लुम्बिनी प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समिति ले अर्घाखाँचीस्थित घरेलु तथा साना उद्योग कार्यालयको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न गरेको छ । अनुगमनपछि समितिले घरेलु उद्योग क्षेत्रले सन्तोषजनक काम गरेको निष्कर्ष निकालेको छ ।
समितिका संयोजक राजुप्रसाद श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले कार्यालयको सेवा प्रवाह, योजनाको प्रभावकारिता तथा बजेट कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे विस्तृत जानकारी लिएको थियो ।
अनुगमनका क्रममा कार्यालय प्रमुख दुर्गा न्यौपानेले आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्दै बजेट कटौती, जनशक्ति अभाव र सवारी साधनको कमी जस्ता समस्याहरू औंल्याइन् । उनले उद्यमशीलता विकास, सीपमूलक तालिम, उद्योग दर्ता तथा प्रवर्धनमा भएका उपलब्धिहरू पनि सार्वजनिक गरिन् ।
कार्यक्रममा स्थानीय स्तरमा घरेलु तथा साना उद्योग प्रवद्र्धनमा देखिएका समस्या, स्रोत–साधनको अभाव तथा बजार पहुँचको कमीबारे छलफल गरिएको थियो । उद्योगमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति तथा कार्यक्रमबारे पनि विचार आदान–प्रदान भएको थियो ।
संयोजक श्रेष्ठले स्थानीय उद्यम सुदृढ बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रभावकारी सेवा प्रवाह र परिणाममुखी कार्यक्रम सञ्चालनमा जोड दिए । उनले कार्यालय स्थापना भएदेखि हालसम्मको प्रभाव, तालिम लिने नागरिकहरूको संख्या, रोजगारी सिर्जनामा परेको प्रभाव लगायत समेटेर विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिए ।
प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरी ले दर्ता भएका उद्योगहरू किन बन्द भइरहेका छन् भन्ने विषयमा गहिरो अध्ययन आवश्यक रहेको बताए । उनले भूगोल र स्थानीय आवश्यकताअनुसार बजेट माग गर्न सुझाव दिए ।
त्यस्तै, समिति सदस्य हेमा बेलबासे केसीले उद्यमशीलता तालिमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै एउटै व्यक्ति बारम्बार तालिममा सहभागी हुने प्रवृत्ति रोक्न आवश्यक रहेको बताइन् । अनुगमनमा प्रदेश सभा सदस्य भगवती कुमारी थरुनी, रेवती गुरुङ, तुलसी शर्मा, समितिकी सचिव कमला पौडेल पोखरेल, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम घरेलु कार्यालयका कर्मचारी हुम बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस क्रममा समितिले सन्धिखर्कस्थित सेरामिक्स उद्योग तथा सहुलियत ऋणमार्फत सञ्चालनमा रहेको गार्मेन्ट उद्योगको समेत स्थलगत अवलोकन गरेको थियो ।