२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

उपमेयर कप टी–२० क्रिकेट : पोखरिया क्रिकेट क्लबलाई उपाधि

Nada
लालबाबु बानिया
२०८२ चैत २९ गते २१:००
Shares
उपमेयर कप टी–२० क्रिकेट : पोखरिया क्रिकेट क्लबलाई उपाधि

पर्सा : पर्साको कालिकामाई गाउँपालिकामा आयोजित दोस्रो गाउँपालिका स्तरीय उपमेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पोखरिया क्रिकेट क्लबले जितेको छ । गाउँपालिकाको सहयोगमा मुडली क्रिकेट क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा कालिकामाई क्रिकेट क्लबलाई पराजित गर्दै पोखरिया विजेता बनेको हो ।

ncell

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको कालिकामाई क्रिकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २५० रनको उच्च योगफल तयार पारेको थियो । २५१ रनको लक्ष्य पछ्याएको पोखरिया क्रिकेट क्लबले उत्कृष्ट प्रदर्शन गर्दै १८ ओभरमै ६ विकेट गुमाएर २५६ रन बनाउँदै रोमाञ्चक जित हात पार्‍यो ।

प्रतियोगितामा कालिकामाई क्रिकेट क्लब उपविजेतामा सीमित रह्यो । विजेता पोखरिया क्रिकेट क्लबलाई ५० हजार ५१ रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई २५ हजार रुपैयाँसहित ट्रफी हस्तान्तरण गरिएको थियो । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल रहेका थिए । उपविजेता टोलीलाई गाउँपालिका उपाध्यक्ष राजमती देवी बरैनीले पुरस्कार प्रदान गरिन् ।

फाइनल खेलमा पोखरियाका कप्तान इरसाद मियाँले उत्कृष्ट ब्याटिङ गर्दै १५६ रन बनाएपछि ‘म्यान अफ द म्याच’ घोषित भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले खेलकुदले युवाहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई प्राथमिकता दिनुपर्ने बताए । उनले आगामी दिनमा खेलकुद विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

मुडलीस्थित खेलमैदानमा सम्पन्न प्रतियोगिता गाउँपालिका अध्यक्ष बुलट पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजमती देवी बरैनी, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, कोषाध्यक्ष प्रेम थापा, वाणिज्य अधिकृत सुनिल चौरसिया लगायत स्थानीय जनप्रतिनिधि, खेलाडी र दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको थियो । खेललाई थप आकर्षक बनाउन वडा नम्बर १ का अध्यक्ष लालबाबु चौरसियाले प्रत्येक छक्कामा एक हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । सोही अनुसार प्रतियोगिताभर ५४ वटा छक्का प्रहार हुँदा ५४ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर