
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग निरन्तर पहल भइरहेको बताएका छन् ।
बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको ऐतिहासिक धरोहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्ने तथा जीतगढी उत्सवलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
‘यसलाई राष्ट्रिय सम्पदाका रूपमा सूचिकृत गर्ने र जीतगढी उत्सवलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने विषयमा संघीय सरकारसँग निरन्तर पहल भइरहेको छ,’ मुख्यमन्त्री आचार्यले भने । उनले आगामी दिनमा पनि प्रदेश सरकारबाट निरन्तर प्रयास रहने स्पष्ट पारे । मुख्यमन्त्री आचार्यले जीतगढी किल्लाको महत्व कुनै एक स्थानीय तहमा सीमित नराखी राष्ट्रिय गौरवका रूपमा विस्तार गर्नुपर्ने उल्लेख गरे । उनले रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा उनले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूले पुर्याएको योगदानको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । ‘कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक सफलताका आधारमा प्राप्त विजय हाम्रो इतिहासको गर्व हो,’उनले भने ।
कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । इतिहासविद् देवेन्द्रराज शाक्यले जीतगढी किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिएका थिए ।
बुटवल उपमहानगरपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको यो उत्सवमार्फत किल्लाको संरक्षण, प्रवर्धन तथा वीरताको इतिहासलाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
१८७२ वैशाख ७ गते उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको ऐतिहासिक विजयको स्मरणमा यो उत्सव मनाइँदै आएको हो । उक्त युद्धमा नेपाली सेनाले वीरतापूर्वक विजय हासिल गर्दै ‘जीतगढी’नाम ऐतिहासिक रूपमा स्थापित भएको मानिन्छ ।