२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

नेपाल युएईसँग पराजित

Nada
२०८३ वैशाख ७ गते २०:५७
Shares
नेपाल युएईसँग पराजित

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय रात्रिकालीन टी–२० खेलमा नेपाल पाहुना टोली युएईसँग पराजित भएको छ । वर्षाले प्रभावित बनेको खेलमा डकवर्थ–लुइस–स्टर्न (डिएलएस) पद्धतिअनुसार युएईले ६ विकेटको जित निकाल्दै दुई खेलको शृंखलामा १–० को अग्रता बनाएको हो ।

ncell

वर्षाका कारण छोट्याइएको खेलमा युएईले १० ओभरमा ७८ रनको संशोधित लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याएको युएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

युएईका कप्तान तथा ओपनर मोहम्मद वासीमले १५ बलमा ३३ रनको तीव्र पारी खेले । उनले पहिलो ओभरमै डेब्यू गरेका हेमन्त धामीलाई २० रन प्रहार गर्दै खेलमा दबाब सिर्जना गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए । उनले खेललाई रोमाञ्चक मोडमा ल्याउने प्रयास गरे पनि अन्य बलरले दबाब कायम राख्न नसक्दा नेपाल हारबाट जोगिन सकेन ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाउँदै खेलिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि डिएलएस पद्धतिअनुसार खेललाई १० ओभरमा झारिएको थियो ।

नेपालको ब्याटिङ कमजोर रह्यो । अर्जुन साउद १३ रनमा आउट हुँदा सन्दीप जोरा ६ रनमै पेभिलियन फर्किए । कुशल भुर्तेल १६ रन बनाउँदै रनआउट भए भने कुशल मल्लले १७ रन जोडे। त्यसैगरी बसिर अहमदले १४ रन बनाउँदा गुल्सन झाले १ रन मात्र बनाए ।

मध्यक्रममा नन्दन यादवले ७ बलमा १३ रन बनाउँदै दुई छक्का प्रहार गरे पनि लामो समय टिक्न सकेनन् । कप्तान दीपेन्द्रसिंह ऐरी ३२ रनमा अविजित रहे भने सन्दीप लामिछाने २ रनमा नटआउट थिए ।

बलिङतर्फ युएईका जुबैरले ३ विकेट लिएर नेपाललाई ठूलो स्कोर बनाउन दिएनन् । दुई खेलको टी–२० शृंखलाअन्तर्गत दोस्रो खेल मंगलबार हुने तालिका छ ।

नेपालले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग–२ सिरिजअघि तयारीस्वरूप युएईसँग यो टी–२० शृंखला खेलेको हो । आगामी दुई महिनाभित्र नेपालले लिग–२ अन्तर्गत दुई त्रिकोणात्मक एकदिवसीय सिरिज आयोजना गर्नेछ, जसमा नेपाल, ओमान र युएईबीच एक सिरिज तथा नेपाल, अमेरिका र स्कटल्यान्डबीच अर्को सिरिज हुने तय छ ।

ताजा खबर

सम्बन्धित खबर