
काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा प्रभावशाली जित हात पार्दै नेपालले दुई खेलको सिरिज १–१ को बराबरीमा टुंग्याएको हो ।
यसअघि सोमबार सम्पन्न पहिलो खेलमा युएईले ६ विकेटको जित निकालेको थियो । तर दोस्रो खेलमा नेपालले बलिङ र ब्याटिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै सहज जित निकाल्न सफल भयो ।
युएईले दिएको १२९ रनको सामान्य लक्ष्य नेपालले मात्र १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओपनर कुशल भुर्तेलले शानदार अर्धशतक प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे । उनले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए । यो उनको टी–२० अन्तर्राष्ट्रिय करिअरको १४औं अर्धशतक हो, जसले उनलाई नेपालका लागि यस फर्म्याटमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको रूपमा स्थापित गरेको छ ।
भुर्तेलले कप्तान दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि अविजित ५८ रनको साझेदारी गर्दै टोलीलाई सहज जिततर्फ डोहोर्याए । ऐरीले १७ बलमा ३ चौकासहित २३ रन बनाएर नटआउट रहे ।
ओपनिङमा कुशल भुर्तेल र कुशल मल्लले आक्रामक सुरुवात दिलाएका थिए । दुवैले पहिलो ८ ओभरमा ६७ रनको साझेदारी गरे । पावरप्लेमा मात्र ५१ रन जोड्दै नेपालले खेलको दिशा आफ्नो पक्षमा मोडेको थियो । मल्लले १७ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाए ।
टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्तोष यादव भने १ रनमै स्टम्प आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । नेपाली बलरहरूले सुरुआतदेखि नै दबाब सिर्जना गरेका थिए ।
खेलको पहिलो बलमै हेमन्त धामीले युएईका कप्तान मोहम्मद वासीमलाई एलबीडब्लु आउट गर्दै नेपाललाई सनसनीपूर्ण सुरुवात दिलाए । त्यसपछि अलिशान सराफु र हरप्रित सिंह पनि सस्तैमा आउट भएपछि युएई दबाबमा परेको थियो ।
नन्दन यादव र शाहब आलमले पनि महत्त्वपूर्ण विकेट लिँदै युएईलाई ८ ओभरमा ६ विकेट गुमाएर ४८ रनको कमजोर अवस्थामा पुर्याए । सोहेब खान र निलान्स केशवानी डकआउट भएपछि नेपाल खेलमा स्पष्ट रूपमा हाबी देखिएको थियो ।
तर त्यसपछि अक्षदीप नाथ र मोहम्मद अर्फानबीच सातौं विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी भयो । अक्षदीपले ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए भने अर्फानले ३६ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले ४ ओभरमा १ मेडन राख्दै मात्र ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट हात पारे ।
टी–२० सिरिज सकिएसँगै अब नेपाल आइसिसी मेन्स क्रिकेट वल्र्डकप लिग–२ अन्तर्गतका सिरिजमा केन्द्रित हुनेछ ।
त्रिवि मैदानमै नेपाल, ओमान र युएईबीच वैशाख १२ देखि २२ सम्म त्रिकोणात्मक एकदिवसीय सिरिज आयोजना हुनेछ । त्यसपछि वैशाख २९ देखि जेठ ८ सम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच अर्को सिरिज सञ्चालन हुनेछ ।
यस जितले नेपाललाई आगामी एकदिवसीय सिरिजअघि आत्मविश्वास थपिएको छ भने टोलीले समग्र प्रदर्शनमा सकारात्मक संकेत दिएको छ ।