२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

दीपक भट्टसँगै तानिए कार्ल्सबर्गका साझेदार राजबहादुर

Nada
२०८३ वैशाख ८ गते २०:३६
Shares
दीपक भट्टसँगै तानिए कार्ल्सबर्गका साझेदार राजबहादुर

काठमाडौं : बहुराष्ट्रिय कम्पनी कार्ल्सबर्ग ग्रुपसँग आबद्ध व्यवसायी राजबहादुर शाह सेयर बजार अनियमितता प्रकरणमा तानिएका छन् । नेपाल धितोपत्र बोर्डले गरेको हालैको एक अध्ययनमा शाहले बिचौलिया दीपक भट्टसँग मिलेर धितोपत्र बजारमा शंकास्पद कारोबार गरेको उल्लेख छ ।

ncell

शाहले अग्रिम रकम नतिरी ठुलो परिमाणमा सेयर खरिद गरेको, ब्रोकरमार्फत कृत्रिम रूपमा कारोबार सीमा लिएको तथा पूर्ण भुक्तानी नगरी सेयर खातामा जम्मा गरेकोजस्ता गतिविधि गरेको पाइएको हो । सोही कारण बजारमा सेयरको मूल्य कृत्रिम रूपमा बढाउन सहयोग पुगेको र लगानीकर्तालाई भ्रममा पार्ने काम भएको अध्ययनको निष्कर्ष छ ।

शाह गोरखा ब्रुअरीका अध्यक्षसमेत हुन् । सोही कम्पनीले कार्ल्सबर्ग ग्रुपसँगको साझेदारीमा नेपालमा बियर उत्पादन गर्दै आएको छ । शाह नेपालको मदिरा व्यवसायीमा पहिलो नम्बरमा पर्छन् । शाहले स्टक ब्रोकर कम्पनी भृकुटी स्टक ब्रोकिङ प्रालिलाई ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा तिर्न बाँकी छ ।

२०८२ साउन २१ गतेदेखि उक्त रकम भुक्तानी गरेको देखिँदैन । यसबाट उनले धितोपत्रसम्बन्धी ऐन, २०६३को दफा ९६ र दफा ९८ बमोजिम कसुर गरेको पुष्टि भएको छ । दफा ९६ अनुसार कसुर गरेमा ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै, कसैलाई हानि–नोक्सानी पुगेको भए त्यसको क्षतिपूर्ति पनि भराउनुपर्ने हुन्छ ।
 

ताजा खबर

सम्बन्धित खबर