
अर्घाखाँची : जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले स्वास्थ्य सचेतना कार्यक्रमलाई नागरिकसम्म अझ प्रभावकारी रूपमा पुर्याउने उद्देश्यसहित सञ्चारकर्मीहरूसँग छलफल गरेको छ ।
सन्धिखर्कमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालयले जिल्लाभर सञ्चालन गरिने स्वास्थ्य सचेतना अभियानलाई तीव्रता दिने योजना प्रस्तुत गरेको हो ।
कार्यक्रममा सञ्चारकर्मीहरूले स्वास्थ्य सन्देशलाई प्रभावकारी रूपमा समाजसम्म पुर्याउन स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सञ्चार र स्वास्थ्यबीचको सहकार्यले जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला अस्पतालका निमित्त प्रमुख डा. खगेन्द्र आचार्यले सर्ने तथा नसर्ने रोगहरूको बढ्दो जोखिमबारे जानकारी दिँदै जीवनशैली परिवर्तन आवश्यक रहेको बताए । उनले मधुमेह, उच्च रक्तचाप र मुटु रोग जस्ता समस्याबाट बच्न नियमित व्यायाम, सन्तुलित आहार, धूम्रपान तथा मद्यपान नियन्त्रण र नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गरे ।
त्यस्तै, जनस्वास्थ्य अधिकृत अंकिता बस्याल ले स्वास्थ्यसम्बन्धी सही सूचना प्रवाह गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताइन् । गलत वा अपूर्ण जानकारीले समाजमा नकारात्मक असर पार्न सक्ने भएकाले प्रमाणित सूचना मात्र सम्प्रेषण गर्न उनले आग्रह गरिन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोख्रेलले सञ्चारकर्मीहरूलाई ‘स्वास्थ्य दूत’को संज्ञा दिँदै उनीहरूको माध्यमबाट समाजमा स्वास्थ्य सन्देश छिटो फैलिने बताए ।
जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले स्वास्थ्य केवल उपचारसँग मात्र सम्बन्धित नभइ दैनिक जीवनशैलीसँग जोडिएको विषय भएकाले जनस्तरमा व्यवहार परिवर्तन आवश्यक रहेको बताए ।