– अनु विज्ञाति
“चुपचाप सहि गर ! अझ किन नटेरेको ? आँसु नझार भनेको सुनिनस् तैँले । कति झार्दी रहिछे कुकुरको मूत । ए सम्झा तेरी छोरीलाई ।”, सेतो धोती माथी सेतै समेज लगाएको मान्छे कड्कियो ।
“छिटो सही गर् छोरी । तैँले सही नगरी काम अघि बढ्दैन रे । अझै ढिलो गर्यौ भने तिमीहरूको काम गर्दिन भनेर वकील रिसाउँदै छ । आज पनि सधैं जस्तै छोडेर जानबेर छैन ।” आमाले सम्झाइन् ।
मैले उनले सही गर्ने ठाउँमा कलमले संकेत गरेर दर्ता किताब उनीतिर बढाएँ । औठाछाप जस्तो लागेर कालो मसीको छापदानी पनि तयारीमा राखेँ । तर उनी सहीछाप गर्न चलमलाईनन् । कालो रंगको कुर्था अनि त्यस्तै सलले पुरै शिरपाउँ ढाकेकी उनका आँखा मात्र देखिएका थिए । दर्ता चलानी कोठाको सीधा अगाडी, फराकिलो प्यासेजको बिचमा कुनै महत्वपूर्ण प्रवचन भइरहेझैँ गरी एक हूल मान्छेहरू झुरुम्म परेर सुनिरहेका थिए । अड्डामा यस्तो दृश्य मेरो लागि नौलो थिएन । त्यहाँ दिनहुँ यस्तै हुलहरु आउँथे, जान्थे । यी हुलसँग अभ्यस्त मेरा आँखा अचानक त्यही हुलबाट निस्किएको चन्दने लेखन्दाससँग ठोकिए । उ हुलबाट हुर्रिँदै मतिर नै आइरहेको थियो । दिनहुँ अड्डा आउने हुनाले मसँग राम्रो चिनजान थियो उसको ।
“खै अझैसम्म सही गरेको छैन ? ल यो निवेदन पनि जिम्मा लेओ । मलाई हतार छ । अब म भ्याउँदिन तिमीहरुलाई मात्रा ढुकेर बस्न ।” उ जसरी आएको थियो उसैगरी हुर्रिँदै बाहिरियो ।
मैले मनमनै सोचें । ऊ त्यो केश त्यतिकै छोडेर जान सक्दैन । हुन सक्छ त्यो उसको अरु पैसा झार्ने उपाय हो । बाहिर बाहिर मलाई हतार छ भनेर बाहिरीए पनि भित्र भित्र फर्काउन त आउलान् नी भन्ने सोचेको हुनु पर्छ त्यसले । नभन्दै त्यस्तै भयो । उ निस्केपछि टेबल वरिपरि झुम्मिएर बसेका मध्ये एउटा अधवैंसे धोती सुर्किदै दगुरो । अलि पर पुगेपछि टाउको मात्र यता फर्काएर कड्कियो, “ छिट्टो सही गर्न लगाएर ल्याओ त्यसलाई ।”
टेबल वरिपरी झुम्मिएका मान्छे एकैचोटी उनीमाथी खनिए । एउटा युवक रन्कियो, “खुरुक्क सही गर नत्र म मारिदिन्छु त्यसलाई ।”
अघिदेखि निहुँरिएको उनको टाउको एकाएक ठाडो भयो । आत्तिए झैँ गरेर उनले आँखा यताउती डुलाइन् । उनका आँखा ढोका बाहिरको हुलतिर हुत्तिए र त्यहाँ बाट क्रमश सर्दै सर्दै ढोकाको कुनामा पुगेर अडिए ।
अघिदेखि मुर्मुरिदै गरेको मुन्द्रे चर्कियो, “तँलाई त्यसको लास नै हेर्ने रहर छ भने सही नगर । घर हिँड् ।” चुल्ठो नै समाउँला झैँ गरेर झम्टियो उ ।
उनका लाचार भएर एकटक हेरिरहेका आँखा नराम्रोसँग झस्किए । रुख जस्तो चल्मल नभई बसेको शरीर हल्लियो । हातहरू बिस्तारै उचालिए । दाहिने हात अगाडी बढ्यो । मैले कलम दिए । उनका हातहरू बेस्सरी कामी रहेका थिए । लाग्थ्यो कि उनले कलम होइन तरवार समाउँदैछिन र सदाका लागि कसैको हत्या गर्दैछिन् । दर्ता किताबमा हात पुग्नु अघि उनले पुनः एक दृष्टी बाहिर फ्यालिन् । उनको अनुहार नराम्रोसँग बिग्रियो ।
भारी मनले सही गर्न निहुरिएकी उनी निक्कै समयसम्म निहुरी रहिन् । उनलाई निक्कै समय लाग्छ भन्ने म मा पूर्व नजिर स्थापित थियो । अझ कतिले त नाम लेखी सकेपछि मेरो नाम भयो भनेर पनि सोध्ने गरेका थिए मलाई । उनीहरू धेरैलाई आँफैले लेखेको आफ्नो नाम पनि भयो भएन थाह हुँदैन थियो । स्कुल पढ्ने उमेरका उनीहरूको यो स्थिति देख्दा मेरो मन अमिलो हुन्थ्यो ।
मेरो नजिर उनमा पनि लागू भयो । सही गर्न निहुराएको उनको मुन्टो धेरै समय पछि उठ्यो । उनले सही गरेको संकेत मिल्ने बित्तिकै पर्खिएर बसेका सबैको अनुहारमा सूर्य उदायो । त्यतिन्जेल लगाएर लेखेको उनको नाम चैँ के रहेछ ? मेरा आँखा दर्ता किताबमा ठोकिए । दर्ता किताबको पाना भिजेको देखेर म झस्किएँ । कसरी पोखियो त्यहाँ पानी ? उनले सही गर्नु पूर्व भिजेको थिएन । जाडो महिना भएकोले पसिनालाई शंका गर्ने ठाउँ थिएन । अनि किन बग्यो त उनका आँखाबाट सप्तकोशी । बाँध फुटाएर पोखिए जस्तै । मेरा आँखा निवेदन दर्ताको पूरा विवरण हेर्न हतारिए ।
वादी : अमिरा
प्रतिवादी : सलीम
मुद्दा : सम्बन्ध विच्छेद
कता कता नमिठोसँग मन दुख्यो । त्यो भन्दा बढी त आँफैप्रति अचम्म लाग्यो । सम्बन्ध विच्छेदका मुद्दा आउने बित्तिकै वादी प्रतिवादीका अनुहार गहिरिएर हेर्ने म । आज मुद्दा दर्ता गरिसक्दा पनि पत्तै पाइनछु । पदस्थापन भएर दर्ता फाँटमा बसेको एक महिनासम्म त समबन्ध विच्छेदका निवेदन दर्ता गरेको दिन, दिनभरी मन भारी हुन्थ्यो । अनेक कुरा मनमा खेल्थे । कसैसँग नबोल्नु झैँ लाग्थ्यो । तर आज मात्र दुई महिना भएको थियो । त्यहाँ काम गर्न थालेको । कति अभ्यस्त भै सकेछु । अब त्यस्ता कुरा मेरो लागि केवल काम मात्र बन्न थालेंछन् ।
अमिराको हुल बाहिरिएसंँगै प्यासेजमा बसेका एक हुल भित्र पसे । पाँच सात जनाको त्यो हुलमा सही गर्न चाहिने मान्छे चाहिँ रहेनछ ।
ती मध्ये सेतै दारी फुलेको बुढो कड्कियो, “सलीम खोइ ?”
हुलका आँखा सलीम खोजीमा दौडिए । प्यासेज वरिपरी, बाहिर, अनि भर्खरै बाहिरिएको हुल भित्र पनि । खोजेको मान्छे कतै नदेखेपछि उनीहरूको अनुहार बिग्रियो । एकअर्कामा मुखामुख गरे । कतिका अनुहारमा क्रोधको बिरुवा उम्रियो, हुर्कियो र एकैछिनमा विशाल रुख बन्यो ।
“यस्तो छोरा जन्मिनु भन्दा त न जन्मनु नै वेश ।” फेरी सेतो दारी भएको बुढोनै जङ्गीयो । उसको रिससँगसँगै उसका आँखाको आयतन पनि बढेको देखियो । उसका भयंकर आँखा पुनः सलिमको खोजीमा निस्किए । केही बेर भौतारिएका आँखालाई ढोकाको कुनाले तान्यो । उ त्यहीबाट चिच्यायो, “खुरुक्क आएर सही गर । संसारमा त्यो भन्दा बाहेक अरु केटी नै नभए जस्तो । एक महिनाभित्र यो भन्दा सयौं गुणा राम्रो परिवारसँग तेरो बिहे गरिदिन्छु ।”
बल्ल मैले बुझे किन अमिराका आँखा त्यहाँ अडिएका रहेछन् । त्यही खैरो भेष्ट र हाफ पाईन्ट लगाउने केटा रहेछ निवेदनको प्रतिवादी सलीम । अमिराको अब केही छिनसम्मको श्रीमान् ।
गर्हौँ शरीर लिएर सलीम ढोकाको च्यापबाट निस्कियो । उसको अनुहार मलिन थियो । सायद उसलाई सही गर्नु थिएन । सम्बन्ध विच्छेद गर्नु थिएन । अमिराको भन्दा राम्रो परीवारँसग बिहे गर्नु थिएन । निक्कै कष्टले उसले पनि सही गर्यो । त्यसपछि त्यो हुलमा पनि शान्तीको श्वास निस्कियो । सलीम बाहेक सबैजना हँसिलो मुद्रामा बाहिरिए ।
“सम्बन्ध विच्छेदको मुद्दामा दुबैले सही गरेपछि कानुनका नजरमा समबन्ध विच्छेदको लागि दुवै पक्ष राजी भएको ठहरियो । अब इजलासमा निवेदन पेश गरेर सम्बन्ध विच्छेदको फैसला लिने अनि काम सकियो ।” प्यासेजमै चन्दने लेखन्दासले हुलका मान्छेलाई बुझाउँदै थियो ।
मलाई फाँटमा बसेर काम गरिरहन मन लागेन । कुन इजलासमा चढ्ने होला उनीहरूको पेशी ? खु्ल्दुली भयो । मैले भएका तीनै वटा इजलास चाहारेँ । तिनै वटा इजलासमा उनीहरुलाई नदेखे पछि अलि मन हल्का भयो । लाग्यो सम्बन्ध विच्छेद नहुने भएछ क्यारे । तर यति सोची नसक्दै अड्डाको बाहिरपट्टी त्यही हुलमा नजर ठोकियो । इजलासमा गएर के भन्ने बारे वकिलहरुको ट्रेनिङ्ग चल्दै थियो सायद । एकैछिनमा दुबै समुह वकिलका साथ इजलासतिर लम्कीए ।
मलाई त्यो दृश्य निक्कै पीडादायक भयो ।
आफ्नो टेवुलमा सेवाग्राही उभिएको देखेपछि म आफ्नै फाँटमा गए । त्यहाँ उही लेखनदास एउटा निवेदन लिएर उभिएको रहेछ ।
मैले निवेदन समात्दै सोधेँ, “तपाईंले अघि ल्याएको सम्बन्ध विच्छेद किन हुन लागेको रहेछ दाई ?”
“ए त्यो ! त्यसको त निक्कै लामो कहानी छ । त्यस्तै दुःखद पनि ।” लेखनदासले जवाफ दियो ।
“दुःखद पनि ? कस्तो दुःखद ?” मैले सोधें
“त्यो केटा र केटीको सम्बन्ध विच्छेद गर्ने मन नै छैन ।” उसले मुख खुम्च्याउँदै बोल्यो ।
“अनि ?” मैले आचर्य हुँदै सोधें ।
“के हुनु हजुर । यिनीहरूको परम्परा नै उस्तो हो । केटा केटी सानै हुँदा उनीहरुका बाबु आमाले मगनी गरी दिएका रे ! अहिले केटी केटाको घरमानै गएर बस्न थालेको पनि तीन वर्ष भएको रहेछ । केटा पक्षको आरोप सम्झौता बमोजिमको दहेज दिएनन् रे ! केटी पक्षको आरोप सम्झौता बमोजिम दिए पनि पटक–पटक थप दहेज माग गरिरहे रे ! यहीँ कुरामा दुबै परिवारबीच मनमुटाव शुरू भएको रहेछ । दुबै परिवार उस्तै–उस्तै परेछन् । आफ्नो–आफ्नो घमण्ड पुरा गर्न सन्तानको खुसी हेरेनन् तिनीहरूले । केटा केटी त एक अर्कासँग छुट्टिने कुरा गर्यो की अँध्यारो मुख लगाउँछन् ।”
“परिवारले भन्यो भन्दैमा सम्बन्ध विच्छेद किन गर्नुपर्यो ?” मैले सोधेँ ।
“नमानेर के गरुन् ? आफैँ निर्णय गर्ने हिम्मत कहाँ छ यिनीहरूसँग । केटीको दाजुले सम्बन्ध विच्छेद गर्न मानिनस् भने केटालाई मारिदिन्छु भनेको रहेछ । अनि त कति गर्दा पनि नमानेकी केटी मानिछ । केटीतिर मात्र होर हजुर, केटातिर पनि केटालाई मनाउन कम सारो पर्यो त । लगभग आठ नौं महिनादेखि यो केश हामीसँग थियो । तर केटाकेटी निवेदनमा सही गर्नै मान्दैनथें । कहिलेकाहीँ त निवेदन तयार गरी नसक्दै दुबै गायब हुन्थे । यिनीहरूकै लागि भनेर ८÷१० वटा त निवेदन मैले नै लेखे हुँला । तर कहिल्यै काम सकिएको होइन । त्यसैले त अघि म जङ्गिएको । तर आज चै काम फत्ते होला जस्तो छ ।” धारा प्रवाह लेखनदास बोली रह्यो । म सुनी रहें ।
“यस्तो पनि हुन्छ र ?” मैले नपत्याएर सोधेँ ।
“उनीहरूको परम्परा नै यस्तै हो हजुर । जतिबेला सलीम र अमिरालाई बिहे केहो थाहा थिएन, त्यति बेला बिहे गराई दिए । अब जब उनीहरू वैवाहिक बन्धनमा रमाउन चाहन्छन् उनीहरुलाई छुट्याउँदैछन् । तर, छुट्याएको नै ठीक छ । नत्र कुनै न कुनै दिन कुनै अप्रिय घटना घट्न सक्छ । उनीहरू यति हारामी हुन्छ्न् की तपाईं अनुमानसम्म लगाउन सक्नुहुन्न ।” लेखनदासले आफ्नो भनाई टुङ्ग्यायो ।
मेरो अन्तरमनमा अनेकौं तर्कहरू उब्जिए । यो समाजमा परम्पराको भारी अझै कति अमिरा र सलीमले बोक्नुपर्ने होला ? भइसकेको विवाह तोड्न सकिन्छ भन्ने कानुनी चेतना भित्रिएको समाजमा दहेज लिने र दिने परम्परा अपराध हो भन्ने चेतना किन पस्न नसकेको होला ? कतै कानुनको प्रयोग आफ्नो स्वार्थ पुरा गर्ने हतियारका रूपमा मात्र त भइरहेको छैन ? खै त सलीम र अमिरालाई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार ? सम्बन्ध विच्छेदको निवेदनमा हस्ताक्षर गरेका सलीम र अमिराले, इजलासमा हाम्रै राजीखुशीले सम्बन्ध विच्छेद गर्न आएका भन्न सक्लान् त ? अमिराको आँखाको सप्तकोशी विवशताको बाँधले छेक्न सक्ला की नसक्ला ? यो भन्दा महत्वपूर्ण कुरा फैसला गर्नु अघि निवेदनको व्यहोरा र उनीहरूको अनुहारको भाव दाँजेर हेर्लान् त न्यायाधीशले ?
यस्ता हजारौं प्रश्नले मन उथलपुथल भएपछि म क्यान्टिनतिर लागेँ । त्यहाँ उही लेखनदास उज्यलो अनुहारमा गफ चुटी रहेको रहेछ, “के गर्नु हजुर कुनै कुनै त यस्ता हरामी हुन्छन् की काम थाल्यो फत्ते गर्न नदिएर पैसा नै दिँदैनन् । आज बल्ल एउटा पुरानो केश को काम सकियो र दाम पाइयो ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies