२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

डिसेम्बर १६ मा स्वदेश फर्कने हसिनाको घोषणा

Nada
२०८३ मंसिर ८ गते १२:२७
Shares
डिसेम्बर १६ मा स्वदेश फर्कने हसिनाको घोषणा

काठमाडौं : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छन् । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उनी फर्किएमा पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ ।

विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत गएकी थिइन् । उनीमाथि प्रदर्शनका क्रममा सयौँ मानिस मारिएको घटनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो । अदालतको फैसलालाई अस्वीकार गर्दै उनले स्वदेश फर्किएपछि कानुनी लडाइँ लड्ने बताउँदै आएकी छन् ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई दोषी ठहर गरिएको र उनको सुपुर्दगीका लागि सरकारले भारतसँग माग गरिसकेको बताएका छन् । सरकारले आफ्नो अडान परिवर्तन नगर्ने उनको भनाइ छ ।

हसिनाले मंगलबार डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गरेकी छन् । उनका प्रवक्ता सैयद मोजाम्मेल अलीले हसिना सन् २०२४ अगस्ट ५ मा बंगलादेशी विमानबाट भारत गएकाले स्वदेश फर्कने यात्राको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताएका छन् ।

डिसेम्बर १६ बंगलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि स्वतन्त्र भएको स्मरणमा यो दिवस मनाइन्छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर