
काठमाडौँ : न्युजिल्यान्डको सत्तारुढ गठबन्धन संसद्मा बहुमत पुर्याउन एक सिटले चुकेको छ । निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको गठबन्धन बहुमतका लागि आवश्यक समर्थन जुटाउन असफल भएको हो ।
अब सरकार टिकाउन गठबन्धनले मध्यमार्गी अवसर पार्टी (अपर्च्युनिटी पार्टी) को समर्थन लिनुपर्ने भएको छ । उक्त पार्टीसँग सहमति हुन नसके न्युजिल्यान्डमा पुनः निर्वाचन हुन सक्ने सम्भावना छ ।
आधिकारिक परिणामअनुसार लक्सन नेतृत्वको नेसनल पार्टीले ४० सिट जितेको छ । उसका गठबन्धन साझेदार एसीटी पार्टीले १३ र न्युजिल्यान्ड फर्स्टले १२ सिट प्राप्त गरेका छन् । तीन दलको गठबन्धनसँग कुल ६५ सिट छ ।
त्यस्तै, विपक्षी लेबर पार्टीले ३६, ग्रिन्सले १७ र माओरी समुदायको प्रतिनिधित्व गर्ने ते पाती माओरीले पाँच सिट जितेका छन् । अवसर पार्टीले सात सिट प्राप्त गरेको छ ।
यस निर्वाचनमा अवसर पार्टी निर्णायक बनेको छ । पार्टीकी नेतृ किउले वङले नेसनल पार्टीसँग वार्ता गर्ने बताएकी छन् । यद्यपि, सरकार गठनका लागि सबै विकल्प खुला रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री लक्सनले सरकार गठनका लागि हुने वार्ता चुनौतीपूर्ण हुन सक्ने बताएका छन् । सहमति नभई हतारमा सम्झौता गर्नु वा देशलाई पुनः निर्वाचनमा धकेल्नु उचित नहुने उनको भनाइ छ ।
लेबर पार्टीका नेता क्रिस हिप्किन्सले आफ्नो पार्टीले लोकप्रिय मत जिते पनि सरकार गठनका लागि आवश्यक संसदीय समर्थन नरहेको स्वीकार गरेका छन् । यस निर्वाचनमा परिवर्तन चाहने मतदाताको संख्या यथास्थितिको पक्षमा रहेकाभन्दा बढी रहेको उनको दाबी छ ।
न्युजिल्यान्डमा मिश्रित सदस्य समानुपातिक निर्वाचन प्रणाली लागू छ । यस प्रणालीमा मतदाताले राजनीतिक दल र स्थानीय प्रतिनिधिका लागि छुट्टाछुट्टै मत दिन्छन् । त्यसैले त्यहाँ प्रायः गठबन्धन सरकार बन्ने गर्छन् ।
गत नोभेम्बर ७ मा भएको निर्वाचनको प्रारम्भिक नतिजाले लक्सन नेतृत्वको गठबन्धनलाई सामान्य बहुमत देखाएको थियो । तर विदेशमा रहेका वा आफ्नो निर्वाचन क्षेत्रबाहिर रहेका नागरिकले दिएको विशेष मत गणना गर्दा गठबन्धनले दुई सिट गुमाएको हो ।
यसपटकको निर्वाचनमा सुस्त अर्थतन्त्र, बढ्दो महँगी र उच्च बेरोजगारी मुख्य मुद्दा बनेका थिए । मतदाताले जीवनयापनको बढ्दो लागत र राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वासप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
नेसनल पार्टीले कर घटाउने, ऊर्जा सस्तो बनाउने, नवीकरणीय ऊर्जाको उत्पादन बढाउने र रक्षा क्षेत्रमा बढी ध्यान दिने प्रतिबद्धता जनाएको थियो । लेबर पार्टीले भने स्वास्थ्य सेवा, सार्वजनिक यातायात र इन्धनको लागत घटाउने तथा सामाजिक आवासमा सरकारी सहयोग बढाउने एजेन्डा अघि सारेको थियो ।