काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिले सोमबारदेखि औपचारिकरुपमा जिम्मेवारी सम्हालेको छ । संघको कार्यालय बत्तीसपुतलीमा सोमबार आयोजित पदबहाली कार्यक्रममा संघको तदर्थ कार्यसमिति संयोजक विमल ढकालले नवनिर्वाचित अध्यक्ष राजेन्द्र भण्डारीलाई संघको बैठक पुस्तिका ‘माइन्युट’ हस्तान्तरण गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
ढकालले जिम्मेवारी पूरा गर्दै संघको साधारण सभा हुन नसकेको अवस्थामा संघलाई छातासंस्था मान्ने घटक संस्थाहरुको साझा सहमति र लिखित आग्रहमा आफू संघको संयोजक भई कार्य गरी अनुकूल समयमा साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचन गरेर जिम्मेवारी पूरा गरेको बताए ।
वैदेशिक रोजगार व्यवसायीले अघि बढाएका र पाइपलाइनमा रहेका समस्याको समाधानका लागि निवर्तमान कार्यसमितिको हैसियतमा नवनिर्वाचित कार्यसमितिलाई सहयोग गर्न आफू हरदम तयार रहेकोे उल्लेख गर्दै ढकालले नवनिर्वाचित कार्यसमितिलाई संघ सबै व्यवसायीको हो भन्ने भावना विकास गरेर अघि बढ्न सुझाव दिए ।
संघका नवनिर्वाचित अध्यक्ष भण्डारीले माघ ६ गते भएको संघको नयाँ कार्यसमितिको निर्वाचनमा व्यवसायीले उत्साहजनकरुपमा गरेको मतदानले आफूहरुलाई उत्साहित बनाएको भन्दै नवनिर्वाचित आफ्नो नेतृत्वको कार्यसमितिसामु चुनौतीका पहाड र अवसरका व्यापक सम्भावना रहेको बताए । उनले सबैको सुझाव लिएर आफूहरु अघि बढ्ने बताए ।
अनधिकृत युट्युबर र अन्य नाममा व्यवसायीमाथि भएको दैनिक आक्रमण गम्भीर रुपमा नियालिरहेको भन्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले व्यवसाय र व्यवसायीका समस्या दुई वर्गमा विभाजन गरेर समाधानको पहल गर्ने उल्लेख गरे । उनले भने, ‘वैदेशिक रोजगार ऐन र नियमावली परिवर्तन, सेवा शुल्क परिमार्जनको विषय र सुरक्षाका अन्य विषयलाई तत्काल समाधान गर्ने वर्गमा राखेर काम गर्ने छौं । पारदर्शी कार्यशैली र संघ कार्यालयलाई व्यवस्थित गरी सम्पूर्णरुपमा व्यवसायीको हितमा केन्द्रित हुनेछौं, प्रतिस्पर्धा मतदानसँगै सकिएको छ ।’
संघको निर्वाचनमा अध्यक्ष भण्डारीका निकटतम प्रतिस्पर्धी रहेका भुवनसिंह गुरुङले चुनावी प्रतिस्पर्धापछि कार्यसमिति व्यवसायीका समस्या समाधानको साझा थलो भएकाले नवनिर्वाचित कार्यसमितिलाई आफ्नो पूर्णरुपले सहयोग रहने भन्दै संघले अविभावकत्व लिएर काम गर्नुपर्ने सुझाव दिए ।
पदबहालीपछि संघको कार्यालयमा नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको छ । पहिलो बैठकले साधारण सभामा उत्साहजनकरुपमा उपस्थित भई मतदान गर्ने व्यवसायीलगायत सबैलाई धन्यवाद दिने निर्णय गरेकोे महासचिव मेघनाथ भुर्तेलले मध्यान्हलाई जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको पदबहाली कार्यक्रममा निवर्तमान कार्यसमिति सहसंयोजक प्रेमबहादुर कटुवाल, सदस्यसचिव प्रज्ञान न्यौपाने, संघका पूर्वमहासचिव नरेश गेलाल, मञ्चका संस्थापक तथा पूर्वमहासचिव सरोजकुमार पोखरेल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष कुमुद खनाल, वैदेशिक रोजगार व्यवसायी तमुधी समाजका अध्यक्ष तीर्थबहादुर गुरुङ, वैदेशिक रोजगार व्यवसायी नेवाः समाजका अध्यक्ष किशन प्रधान, वरिष्ठ अधिवक्ता शम्भु निरौला र अधिवक्ता देवराज कटुवाल र अन्य वैदेशिक रोजगार व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies