
दोहा कतार : श्रम संस्कृति पार्टीको प्रवास संगठनका रूपमा स्थापित श्रम संस्कृति महाअभियान कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा शुक्र कुमार (सुवास) सर्वसम्मत चयन भएका छन् । शुकबार प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा महाअभियान कतारका संयोजक शुक्र कुमार (सुवास)को सभाध्यक्षता र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

संगठनको समितिको वरिष्ठ उपाध्यक्षमा भाइकाजी गुरुङ, प्रथम उपाध्यक्षमा भीम कुमार एक्चाई मगर, द्वितीय उपाध्यक्षमा नवीन थापा, तृतीय उपाध्यक्षमा विश्वकला राई, महासचिवमा एकराज राई, उपमहासचिवमा दुर्गा बहादुर गुरुङ, सचिव द्वय सुजन थुलुङ राई र प्रमोद थेबे, महिला सचिवमा शर्मिला राई, कोषाध्यक्षमा मन कुमार राई (मन्जिल), सह-कोषाध्यक्षमा हेमरानी तामाङ र प्रवक्तामा पदम बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा विक्रम राई, अपिस राई, सविता वान्तवा, सेवक राजेन्द्र सम्वाहाम्फे, वसन्त कुमार गेनाङ्वा, दिल कुमार राई, सोनी राई, हर्क खजुम लिम्बु, किसन राई, नवीन कुमार राई, रुद्र प्रसाद तामाङ, मिगुर शेर्पा, राम कुमार गुरुङ, दीपक खालिङ राई, झन् लक्ष्मी तामाङ, विष्णु कुमार सुन्दास, टंक कार्की र सुन बहादुर दर्लामी मगर रहेका छन् । निर्वाचित कार्यसमिति निर्वाचन समितिका संयोजक पदम बहादुर राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

अधिवेशनमा तदर्थ समितिका उपसंयोजक भाइकाजी गुरुङले स्वागत मन्तव्य राखे लगतै उप-संयोजक एकराज राईले संस्था स्थापना र कार्यक्रमको उद्देश्यको बारेमा प्रस्ट पारेका थिए । मध्यपूर्वमा चलिरहेको अनुकूल समयको बाबजुद सम्पन्न भएको कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ संस्था एवं वैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहितको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि पन्थीले नयाँ बन्दै गरेको संस्था भए पनि हरेक सामाजिक कार्यमा एनसीसी कतार समन्वय र सहकार्य गर्न सधैँ तयार रहेको बताए । पन्थीले कतारमा विशेष गरी श्रमजीवी वर्गको हक हितको लागि काम गर्नु पर्ने दायित्व रहेको बताए ।

अधिवेशन अवधिभर कतारमा रहेका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । प्रस्तुति दिने कलाकारलाई पारिश्रमिक सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रम मार्फत करिब १ सय जनाले सदस्यता ग्रहण गरेका छन् । सह-सचिव दुर्गा बहादुर गुरुङले सहजीकरण गरेको अधिवेशनको खुल्ला सत्रको समापन गर्दै सभाध्यक्ष राईले संस्थागत निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित हुने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै समितिले आगामी दिनमा सत्यको पक्षमा उभिएर देश, जनता र श्रमिकको हक हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
