काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसैवर्ष नोभेम्बरदेखि कतारमा शुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि अल्पकालीन भिसामा नेपाली श्रमिक लैजान अनुमति दिएपछि अनधिकृत व्यक्तिहरू मौकाको फाइदाका लागि सल्वलाएका छन् ।
मन्त्रालयले वैदेशिक रोजगार विभागबाट इजाजत लिएका सबै म्यानपावर कम्पनीहरू र व्यक्ति स्वयंले छोटो अवधिका लागि कामदार मागपत्र ल्याएर श्रमिक पठाउन वा जान पाउने अनुमति दिएपछि वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति नलिएकाहरूले पनि सामाजिक संजाल प्रयोग गरी विज्ञापन गरिएको पाइएको छ । यसै क्रममा ३ सय ५० सुरक्षागार्डको डिमाण्ड आएको भन्दै सामाजिक सञ्जालमा गरिएको विज्ञापन नेपालदेखि कतारसम्म भाइरल बनेको छ । आकर्षक रुपमा गरिएको उक्त अनधिकृत विज्ञापनमा उमेर २३ वर्षदेखि ४५ वर्ष, आधारभूत अंग्रेजी भाषाको ज्ञान, १० घण्टाका ड्युटीका लागि आकर्षक तलव भन्दै राहदानी बुझाउन भनिएको छ । हालको व्यवस्था अनुसार रोजगारदाताले कतारस्थित नेपाली दुतावासबाट मागपत्र प्रमाणीकरण भएपछि पूर्व स्वीकृति लिएर राष्ट्रिय दैनिकमा सूचना सार्वजनिक गरे पछि मात्र कामदारको अन्तरवार्ता र छनौट गर्न पाउने व्यवस्था छ । तर ऐनको उक्त प्रक्रिया पूरा नगरी न्युनतम तलव १८ सय रियाल, खानाको ३ सय रियाल एवम् ओभरटाईम, यातायात र मेडिकल सुविधा पाइने भनिएको उक्त अनधिकृत विज्ञापन छ्यापछ्याप्ती गराइएको छ ।
नेपालबाट कति श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित भइ नसकेको मन्त्रालयले जनाएको छ । कामदारको लागि मागपत्र प्रमाणीकरण भएर आएपछि मात्रै त्यहाँ पाउने तलब र सेवा सुविधाको बारेमा जानकारी हुनेछ । तर सामान्य अवस्थामा जाने श्रमिकले भन्दा विश्वकपको समयमा छोटो अवधिका लागि जाने श्रमिकले राम्रो तलब र सेवा सुविधा पाउनेछन् ।
कतारको आग्रह पछि प्रतियोगिता अवधि भर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले छोटो अवधियों भिसाबारे अनुमति दिने निर्णय गरिएको हो तर आइतबारसम्म कुनै पनि आधिकारिक माग पेश नभएको मन्त्रालय शुत्रले जनाएको छ ।
सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पुरा गरेर पठाउने निर्णय समेत गरेको छ । काम नै छोटो अवधिका लागि पठाउने भएकाले उनीहरुको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजिव पोख्रेलले जानकारी दिए ।
फुटबल प्रतियोगिताका लागि कामदारको माग आएको कुरा यसअघि कतारमा रहेको नेपाली दूतावासलाइ रोजगारदाता कम्पनीले जानकारी गराएका थिए । आफुलाई जानकारी आएपछि दुतावसले पत्र लेखेको थियो । दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गरेर कामदार पठाउन पाइने छ ।
विश्वकप फुटबलसम्मका लागि मात्रै नेपाली कामदार पठाइने भएकाले सरकारले शुन्य लागतमा पठाउन सम्बन्धित कम्पनीहरुलाई अनुमति दिने छ । त्यस्तै मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नु पर्ने निर्णय गरेको छ ।
त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि ६ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनी बाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीको लागि जान खोज्नेहरूले ब्यक्तिगत भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।
कानुन अनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भए पनि कहीँ कतैबाट त्यो भन्दा कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वकृति प्रदान गर्ने पनि कानुनी व्यवस्था भएकाले यो छोटो अवधिका लागि श्रम स्वीकृति दिएरै कामदार पठाउन कानुनी अड्चन नभएको सहसचिव पोख्रेलले जानकारी दिए । विश्वकप फुटबलको समयमा कतारले छोटो अवधिका लागि झण्डै १२ हजार श्रमिकको माग गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies