
दोहा कतार : कतारमा स्थापित नवलपरासी सेवा समाज कतारले गृह जिल्लाका दुई विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समाजले बर्दघाट नगरपालिका दिव्यनगर-४ मा रहेको श्री नव दिव्य ज्योति आधारभूत विद्यालय र रामग्राम नगरपालिका-१८ को पण्डितपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा एक लाख रुपैयाँ मूलकोष रहने गरी अक्षयकोष स्थापना गरिएको हो । समाजका अध्यक्ष अध्यक्ष दुर्गा हमाल ठकुरीले एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरी सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै अक्षयकोष स्थापना गरिएको हो ।
दिव्य ज्योति विद्यालयका प्रधानाध्यापक गीता गैरेले उक्त कोषबाट विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, पुरस्कार तथा छात्रवृत्ति वितरणमा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईले पनि कोषको ब्याज मार्फत प्राप्त हुने रकम विद्यार्थीको हितका लागि खर्चिने प्रतिबद्धता जनाए । दुवै विद्यालयका विद्यार्थी तथा शिक्षकले समाज कतारप्रति आभार व्यक्त गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा समाज कतारका कार्यसमिति पदाधिकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय सरोकारवालाहरू विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय वासीहरूको उपस्थिति रहेको थियो । यी दुईसँगै समाजले जिल्ला भित्र स्थापना गरेको कोषको संख्या सात पुगेको छ । ७ मध्य एक अस्पताल समेत रहेको छ । कतारमा महँगा सार्वजनिक कार्यक्रमको आयोजना नगर्ने समाजले जिल्लामा भने उदाहरणीय कार्य गर्दै आएको छ ।