२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

जनअपेक्षाअनुसार काम गर्न मन्त्री कलवारको निर्देशन

Nada
सूर्यप्रसाद भुसाल
२०८३ वैशाख १४ गते २०:३६
Shares
जनअपेक्षाअनुसार काम गर्न मन्त्री कलवारको निर्देशन

अर्घाखाँची : लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवप्रसाद कलवारले बदलिँदो जनअपेक्षाअनुसार कार्यसम्पादन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को योजना तर्जुमा गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै उनले परम्परागत कार्यशैली अन्त्य नगरेसम्म नागरिकको अपेक्षा पूरा हुन नसक्ने बताएका हुन् ।

ncell

मन्त्री कलवारले प्रशासनिक ढिलासुस्ती र पुरानो सोच त्यागेर परिणाममुखी काममा केन्द्रित हुन आग्रह गरे । उनले सेवा प्रवाहलाई छिटो, प्रभावकारी र जनमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै भ्रष्टाचारमुक्त कार्यालयप्रति जनविश्वास कायम गर्न कर्मचारीलाई सचेत गराए । पुरानो शैलीबाट गुणात्मक परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उनले संघीय सरकारको कार्यदिशालाई प्रदेशस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले वन कार्यालयहरू नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील निकाय भएकाले सेवा प्रवाहलाई अझ जिम्मेवार र प्रभावकारी बनाउन निर्देशन दिए । उनले वर्तमान परिवेशमा जनअपेक्षा उच्च रहेको उल्लेख गर्दै ढिलासुस्ती अस्वीकार्य हुने स्पष्ट पारे ।

सचिव भट्टराईले विवादास्पद वा जनभावनाविपरीतका गतिविधि नगर्न सचेत गराउँदै सबै कार्यालयलाई नमूना संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित काम गर्न आग्रह गरे । निर्णय र कार्यान्वयनमा जनहितलाई केन्द्रमा राख्नुपर्ने उनको जोड थियो ।

वन क्षेत्रमा देखिएका चुनौती समाधानका लागि स्थानीय तह र जनप्रतिनिधिसँग सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले विशेषगरी गर्मीयाम नजिकिँदै गर्दा वन डढेलो नियन्त्रणलाई प्राथमिकतामा राख्न, काठ तथा वन पैदावारको अवैध निकासी रोक्न र सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिए ।

मन्त्रालयले सेवाग्राहीका गुनासो समाधानका लागि सचिव वा महानिर्देशकसम्म सिधैँ सम्पर्क गर्न सकिने व्यवस्था गरेको जनाएको छ । साथै वैज्ञानिक वन व्यवस्थापनमार्फत वन क्षेत्र सुधार तथा विस्तार गर्ने, रुख कटान, घाटगद्दी र बिक्री–वितरण प्रक्रियालाई सहज बनाउने योजना अघि बढाइएको दाबी गरिएको छ ।

कार्यक्रममा प्रदेश वन निर्देशनालयका महानिर्देशक, विभिन्न जिल्लाका डिभिजन वन कार्यालय प्रमुख तथा भू–जलाधार कार्यालयका प्रमुखहरूले चालू आर्थिक वर्षमा सम्पन्न कार्यहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम वरिष्ठ वन अधिकृत टोलकराज चापागाईंको सञ्चालनमा सम्पन्न भएको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर