
काठमाडौं : निर्माण व्यवसायीहरूले निर्माण उद्योगमा आपतकाल घोषणा गरी आफूहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
इन्धनलगायतका निर्माण सामग्रीहरूमा चर्को मूल्यवृद्धि भइरहेका बेला मंगलबार निर्माण व्यवसायीहरूले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् ।
निर्माण कार्य ठप्प हुनेगरी निर्माण सामग्रीहरूमा मूल्य वृद्धि भएकाले तत्काल राहत दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत प्रधानमन्त्री शाहसँग माग गरिएको काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका महासचिव पञ्चबहादुर तामाङले बताए ।
उनले निर्माण सामग्रीहरूको मूल्य समायोजन गरेर व्यवसायमैत्री बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
संघले प्रधानमन्त्री शाहलाई बुझाएको ज्ञापन पत्रमा निर्माण कार्य ठप्प हुने अवस्था आएकाले सरकारले इन्धन, निर्माण सामग्री लगायतमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्नेमा जोड दिइएको छ ।