काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनावको मिति तोकिन सक्ने बताएका छन् । मंगलबार नियमित पत्रकार सम्मेलन गरी प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर ४ गते तोकिए आश्चार्य नमान्न आग्रह गरे ।
अब बस्ने मन्त्रिपरिषद् बैठकबाट संघ र प्रदेशको चुनावको मिति तोकिन सक्ने प्रमुख आयुक्त थपलियाले बताएका हुन् । आयोगले सरकारलाई मंसिर २ गते चुनावको मिति तोक्न सुझाव दिएको छ । चुनावको सम्पूर्ण तयारी हुने कार्यतालिका सहित मितिबारे सुझाव दिएको थियो ।
प्रमुख आयुक्त थपलियाले संघ र प्रदेशको चुनावका निम्ति २ करोड मतपत्र प्रकाशन गरिसकेको पनि बताए । आगामी चुनावमा ८ करोड मतपत्र प्रकाशित गर्नुपर्ने भएपनि २ करोड प्रकाशित भइसकेको उनले बताए । तर एक मन्त्रीले भने प्रमुख आयुक्त थपलियाले भने जस्तो मंसिरमा चुनावको मिति घोषणा हुनसक्ने सम्भावना कम रहेको बताए ।
ती मन्त्रीको भनाइमा, मंसिरमा नभएर फागुनमा चुनाव गराउने सरकारको तयारी छ । ती मन्त्रीको भनाइ र प्रमुख आयुक्त थपलियाको अभिव्यक्तिले चुनावको मिति पछि धकेल्ने सरकारको तयारी रहेको अनुमान लगाउन सकिन्छ । किनकि यसअघि स्थानीय चुनाव पनि पछि धकेल्ने सरकारको तयारी थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघको चुनाव पछाडि मात्रै स्थानीय चुनाव गराउने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।
तर चर्को विरोध भएपछि सरकारले गएको ३० वैशाखमा चुनाव गराएको छ । उक्त चुनावमा सत्तारुढ गठबन्धनले तालमेल गरेको थियो । आगामी चुनावमा पनि गठबन्धनको प्रयास गरिरहेका छन् । त्यसको तयारी आवश्यक पर्ने भएकाले पनि फागुनमा चुनावको मिति तोकिने ती मन्त्रीको भनाइ छ ।
विपक्षी दल नेकपा एमालेले भने सरकारको तयारीप्रति आपत्ति जनाएको छ । केही दिन अगाडि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै चुनाव हुनुपर्ने बताएका थिए । सरकारले चुनावको मिति सार्ने सरकारको तयारी रहेको आशंका ओलीले गरेका थिए । ओलीको अभिव्यक्तिपछि एमालेका नेताहरुले मंसिरमै चुनाव हुनुपर्ने बताइरहेका छन् ।
‘मंसिरमा चुनाव नगराउने सरकारको तयारी देखिन्छ । यो त संविधानको भावना बिपरीत हो’, एमालेका एक पदाधिकारीले भने । समयमै चुनाव गराउन एमाले नेताहरुले दबाव दिदै आएका छन् । सत्ता गठबन्धन टिकाउन र फेरि सरकार बनाउने शक्ति बनाउनेगरी चुनावको मिति पछि धकेल्ने तयारी गरेको एमाले नेताहरुको आशंका छ ।
कांग्रेस पहिलो दल
नेकपा एमालेको दावी बिपरीत निर्वाचन आयोगले गएको स्थानीय चुनावबाट नेपाली कांग्रेस पहिलो दल भएको प्रष्टोक्ति दिएको छ । मंगलबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय चुनावमा एमाले दोस्रो दल मात्रै भएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए ।
आयोगले एमालेले भन्दा कांग्रेसले एक लाख ४४ हजार ५९१ बढी मत ल्याएको जनाएको छ । कांग्रेसलाई पहिलो दल भएको तथ्याङ्कको आधार भने स्थानीय चुनावमा वडाध्यक्षका उम्मेद्वारले पाएको मत हो । स्थानीय चुनावमा कांग्रेसले ३९ लाख ५६ हजार मत ल्याएको, तर एमालेले ३८ लाख ११ हजार ल्याएको आयोगको रिपोर्टमा उल्लेख छ ।
कांग्रेसले चुनावमा ३४.२८ प्रतिशत मत ल्याएपनि एमालेले ३३.०३ प्रतिशत ल्याएको आयोगले जनाको छ । माओवादी केन्द्र भने तेस्रो स्थानमै छ । माओवादी केन्द्रले १५ लाख तीन हजार ल्याएको छ । स्वतन्त्र उम्मेद्वाले पनि तीन लाख बढी मत ल्याएको आयोगले जनाएको छ । स्थानीय चुनावमा कांग्रेसले ७५३ मध्ये ३२९ सिट ल्याएको छ ।
०७४ को चुनावमा २९४ स्थानीय तह जित्दै पहिलो दल बनेको थियो । तर एमालेले भने ८८ सिट गुमाएर २०६ मत मात्रै ल्याएको छ । स्थानीय तहको संख्यामा ७५३ मध्य माओवादी केन्द्रले १२१ स्थानीय तह जितेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies