
दोहा कतार : मध्यपूर्वमा देखिएको तनाव कम हुँदै गएसँगै सार्वजनिक गतिविधि बढ्दै गइरहेको छ । यसको सकारात्मक प्रभाव कतारमा पनि प्रष्ट देखिन थालेको छ । केही समयदेखि करिब ठप्प जस्तै रहेका नेपाली समुदायका कार्यक्रमहरू पनि अहिले विस्तारै सुरु हुन थालेका छन् । यसै सन्दर्भमा, कोशी प्रदेश समन्वय परिषद्, कतारले नेपाली नयाँ वर्ष २०८३ सालको पावन अवसरमा एक विशेष 'शुभकामना आदानप्रदान कार्यक्रम-२०२६' आयोजना गर्ने भएको छ ।
कार्यक्रम आगामी शुक्रवार, मे १ तारिखका दिन सनैया स्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको परिषद्का अध्यक्ष रुद्र शर्मा आचार्यले मध्यान्ह दैनिकलाई जानकारी दिए । कार्यक्रममा किरात समुदायको महान् पर्व उभौली तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस समेत एकमुस्ट मनाइने भएको छ । मध्यान्ह साढे १२ बजेबाट सुरु हुने कार्यक्रममा सरिक हुन खासगरी कतारमा रहेका कोशी प्रदेश बासीहरूलाई आयोजकले आग्रह गरेको छ ।
प्रदेश मातहतमा खोटाङ सेवा समाज, मोरङ सुनसरी सेवा समाज, धनकुटा सेवा समाज, झापाली समाज, ओखलढुंगा सेवा समाज, पाँचथर सेवा समाज, ताप्लेजुङ पाथीभरा सेवा समाज, तेह्रथुम सेवा समाज, उदयपुर प्रवासी सेवा समाज, भोजपुर सेवा समाज, इलाम सेवा समाज र सङ्खुवासभा सेवा समाज कतार आबद्ध रहेका छन् ।
यी सबै जिल्ला संस्थाहरूले एकसाथ मिलेर यो कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्नेछन् । जसले नेपाली समाजको एकता, सहकार्य, र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।
