२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

ह्वाइट हाउसको रात्रिभोजमा गोली प्रहार गर्ने व्यक्तिमाथि अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या प्रयासको अभियोग

Nada
२०८३ वैशाख १६ गते १२:१४
Shares
ह्वाइट हाउसको रात्रिभोजमा गोली प्रहार गर्ने व्यक्तिमाथि अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या प्रयासको अभियोग

काठमाडौंः ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनको रात्रिभोजका क्रममा शनिवार राति गोली प्रहार गर्ने संदिग्ध व्यक्तिमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको औपचारिक अभियोग लगाइएको छ । अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले ३१ वर्षीय कोल थोमस एलेनविरुद्ध तीनवटा गम्भीर संघीय अभियोग दर्ता गरिएको जानकारी दिए ।

ncell

एलेनमाथि राष्ट्रपतिको हत्या प्रयास, अपराध गर्ने उद्देश्यले अन्तरराज्यीय हतियार ढुवानी र हिंसात्मक कार्यका क्रममा बन्दुक प्रहार गरेको आरोप लगाइएको छ । अनुसन्धानकाअनुसार क्यालिफोर्निया निवासी एलेन रेलमार्फत लस एन्जलसबाट सिकागो हुँदै अप्रिल २४ मा वासिङ्टन डिसी पुगेका थिए । उनी हतियारसहित वासिङ्टन हिल्टन होटलमा बसेका थिए, जहाँ शनिवार राति विशेष रात्रिभोजको आयोजना गरिएको थियो

घटनाको विवरण दिँदै ब्लान्चले बताएअनुसार राति करिव ८ः४० बजे एलेन होटलको टेरेस लेभलमा रहेको सुरक्षा जाँच केन्द्रमा हतियारसहित प्रवेश गर्ने प्रयास गरेका थिए । उनले सुरक्षा घेरा तोड्न खोज्दा सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहान भएको थियो। सो क्रममा अमेरिकी सेक्रेट सर्भिसका एक अधिकारी घाइते भएका छन् । एलेनको साथबाट १२–गेज पम्प–एक्सन शटगन, । ३८ क्यालिबरको पिस्तोल, तीनवटा चक्कु र अन्य खतरनाक सामग्री बरामद गरिएको छ । घटनाअघि उनले आफ्ना आफन्तहरूलाई पठाएको इमेलमा ट्रम्प प्रशासनका उच्च पदस्थ अधिकारीहरूलाई निशाना बनाउने उल्लेख गरेको पाइएको छ ।

गोली चल्न थालेपछि राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र मन्त्रीमण्डलका सदस्यहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो । प्रत्यक्ष प्रसारणमा देखिएअनुसार घटनाको समयमा सहभागीहरू टेबलमुनि लुकेर ज्यान जोगाउन खोजिरहेका थिए । अमेरिकामा पछिल्ला वर्षहरूमा राजनीतिक हिंसाका घटनाहरू बढ्दै गएका छन् । राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि पटक–पटक हत्याको प्रयास र ज्यान मार्ने धम्कीहरू आउने गरेका छन्। यसअघि सन् २०२४ जुलाईमा पेन्सिलभेनियाको बटलरमा चुनावी सभाका क्रममा उनीमाथि घातक आक्रमण भएको थियो । हाल यस घटनाको थप अनुसन्धान भइरहेको र सुरक्षा निकायहरूले यसलाई गम्भीरतापूर्वक लिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर