
दोहा कतार : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै कतार इनर्जीले मे २०२६ का लागि नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार, कतारमा गुड्ने सवारी साधनमा प्रयोग हुने पेट्रोलको मूल्यमा सामान्य वृद्धि गरिएको छ भने डिजेलको मूल्य स्थिर राखिएको छ ।
नयाँ मूल्य अनुसार सुपर पेट्रोल प्रति लिटर २.१० करी कायम गरिएको छ भने प्रिमियम पेट्रोल प्रति लिटर १.९० करी कायम भएको छ । दुवै तेलमा अप्रिलको भन्दा ०.५ पैसा मूल्य वृद्धि गरिएको छ । डिजेल प्रति लिटर २.५ नै रहेको छ यसमा कुनै पनी मूल्य परिवर्तन गरिएको छैन ।
नेपालमा यति बेला चर्को महँगी र इन्धनको मूल्य वृद्धिको बहस तातिरहेका बेला, खाडी मुलुक कतारमा भएको यो सामान्य मूल्य वृद्धिले त्यहाँ कार्यरत लाखौं नेपाली श्रमिकहरूलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्ने देखिन्छ । विशेष गरी कतारमा ट्याक्सी चालक, डेलिभरी सेवा र आफ्नै सवारी साधन प्रयोग गर्ने नेपाली लगायतका लागि खर्च केही बढ्नेछ ।
नेपालमा आयल निगमले अन्तर्राष्ट्रिय बजारकै आधारमा मूल्य समायोजन गर्ने परिपाटी रहेकाले, खाडी मुलुकमा बढ्दो यो क्रमले भोलिका दिनमा नेपालमा पनि इन्धनको मूल्यमा प्रभाव पर्न सक्ने देखिन्छ । कतार सरकारले सन् २०१७ देखि नै अन्तर्राष्ट्रिय बजारको माग र आपूर्ति अनुसार इन्धनको मूल्य तय गर्दै आएको छ ।