२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कोशी प्रदेश समन्वय परिषद् कतारले मनायो नयाँ वर्ष तथा श्रमिक दिवस

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख १८ गते २१:१८
Shares
कोशी प्रदेश समन्वय परिषद् कतारले मनायो नयाँ वर्ष तथा श्रमिक दिवस

दोहा, कतार : कोशी प्रदेश समन्वय परिषद् कतारले नयाँ वर्ष २०८३, अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा किरात समुदायको महान् चाड उभौलीको पावन अवसरमा एक भव्य शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कतारमा रहेका कोशी प्रदेशवासीहरूबिच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको हो ।

ncell

परिषद्का अध्यक्ष रुद्र शर्मा आचार्यको सभापतित्वमा तथा  परिषद्का संस्थापक अध्यक्ष एवं वर्तमान संरक्षक संयोजक चूडामणि कार्की प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले नेपालको विविधताको चर्चा गर्दै कोशी प्रदेश आफैंमा एउटा सुन्दर फूलबारी रहेको बताए । "नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो र कोशी प्रदेश त्यसको एउटा अभिन्न हिस्सा हो। यहाँ हाम्रो व्यक्तिगत साइनो र सम्बन्धहरू छन् फरक पनी होलान्, तर समन्वय परिषद् एउटा परिवार हो, एउटा साझा घर हो," कार्कीले श्रमको सम्मान गर्दै विश्वभर रहेका नेपाली श्रमिकहरूलाई मे दिवस (श्रमिक दिवस) को शुभकामना ज्ञापन गर्दै भने, "पदमा तल-माथि भए पनि, पसिना बगाउने र श्रम गर्ने हामी सबै श्रमिक हौं ।" उनले बुद्ध जयन्ती र किरातहरूको महान् पर्व उभौलीको समेत शुभकामना व्यक्त गर्दै समन्वय परिषद्ले गर्दै आएका कार्यहरूको प्रशंसा गरे । 

कार्यक्रममा कोशी प्रदेश मातहतका विभिन्न जिल्लाका कलाकारहरूले प्रदेशको मौलिक कला र संस्कृति झल्किने विविध सांगीतिक तथा नृत्य प्रस्तुतिहरू पस्किएका थिए । सीमित समय र श्रोतका बाबजुद कलाकारहरूले आफ्नो कलामार्फत प्रवासमा पनि प्रदेशको मौलिकता र सांस्कृतिक सुगन्ध छर्न सफल भएका थिए । कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको कार्यक्रममा थुप्रै वक्ताहरुले शुभकामना मन्तव्य राख्दै कोशी प्रदेशका कार्यहरूको प्रशंसा गरेका थिए। साथै उनीहरूले श्रमिक दिवस, बुद्ध जयन्ती तथा नयाँ वर्षको शुभकामना ज्ञापन गरेका थिए । 

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष आचार्यले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण जिल्लागत संस्थाहरू र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । आचार्यले भने, "हामीले एउटा ठुलो आउटडोर फेस्टिभल आयोजना गर्ने योजना बनाएका थियौँ, तर मध्यपूर्वको विषम परिस्थितिका कारण तत्काललाई त्यो सम्भव हुन सकेन।" यद्यपि, समन्वय परिषद् भविष्यमा पनि निरन्तर समाजसेवा र सामाजिक हितका कार्यहरूमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै गरे । उनले नयाँ वर्षको उमङ्ग र विभिन्न चाडपर्वहरूको शुभकामना साटासाट गर्दै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा समापन भएको घोषणा गरेका थिए ।

कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र उप्रेतीले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक भीम रसाइलीले स्वागत मन्तव्यद्वारा सहभागीहरूलाई स्वागत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर