२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

उद्योगी व्यवसायीलाई रविले भने- डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनसाय छैन

Nada
२०८३ वैशाख २० गते १५:१४
Shares
उद्योगी व्यवसायीलाई रविले भने- डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनसाय छैन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन् ।

ncell

आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका हुन् । उनले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

उनले सरकार उद्योगी व्यवसायीहरूसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेको बताए । तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाइ छ ।

विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उनले बताए । उनले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरे । सरकार सरकारले उधोगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने उनको भनाइ छ । 

उनले वर्तमान सरकार चुनावमा आफूहरुले गरेको वाचापत्रको आधारमा नै सञ्चालन हुने बताए । जनताले वाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उनले वाचापत्रभन्दा दायाँबायाँ नजाने दाबी गरे । उनले उद्योगी व्यवसायीहरुलाई आफ्ना कमीकमजोरीलाई पनि मूल्यांकन गर्न आग्रह गरे ।

आन्तरिक लेखापरीक्षण गर्न सुझाव दिँदै उनले विगतका कमजोरी सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गरे । नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

उनले आर्थिक सुधारका लागि गरिने कानून कार्यान्वयनका क्रममा आवश्यक सहयोग गर्न व्यवसायीहरू तयार हुनुपर्नेमा जोड दिए । उनले विगतमा जस्तो उद्योगी व्यवसायीहरु समस्या लिएर नेताको घरघरमा पुग्न नपर्ने बताए । 

सरकारले ५–७ वर्षभित्र मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले उक्त लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । निजी क्षेत्रको क्षमताका आधारमा नै सरकारले लक्ष्य निर्धारण गरेको उनको भनाइ छ । उनले सरकार लगानीमैत्री वातावरण बनाउन तयार रहेकोले निर्धक्क भएर व्यापार व्यासाय सञ्चालन गर्न आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर