२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रास्वपालाई निजी क्षेत्रका प्रतिनिधिहरुले भने- ‘लगानीको वातावरण तयार गर्न प्याकेज ल्याऊ’

Nada
२०८३ वैशाख २० गते १५:२०
Shares
रास्वपालाई निजी क्षेत्रका प्रतिनिधिहरुले भने- ‘लगानीको वातावरण तयार गर्न प्याकेज ल्याऊ’

काठमाडौं : मुलुकमा लगानीको वतावरण बन्न नसकेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेका छन् ।

ncell

रास्वपाले आइतबार आयोजना गरेको निजी क्षेत्रसँगको संवाद कार्यक्रममा व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले दुई तिहाइ बहुमत नजिकको सरकारसँग धेरै आस रहेको भन्दै मुलुकभित्र लगानीको वातावरण तयार गर्न विशेष प्याकेजहरूको घोषणा गर्न माग गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेको समेत सहभागितामा सम्पन्न कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माइकल फोलेले नेपालको टेलिकम पूर्वाधार निकै कमजोर रहेको बताउँदै नेपालमा वातावरण तयार भए एनसेल थप लगानी गर्न तयार रहेको बताए ।

उनले हाल पूर्वाधार कमजोर भएकै कारण अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने क्षमता कमजोर भएको बताए । उनकाअनुसार एनसेलले पर्याप्त लगानी नेपालमा भित्र्याउन पाइरहेको छैन । सरकारी अवरोधले वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउन समस्या भइरहेको बताउँदै उनले लगानीका लागि सहजीकरण गरिदिन रास्वपालाई आग्रह गरे ।  

फोलेकाअनुसार नेपालमा ५ जी मात्र होइन, फाइबर नेटवर्क, डाटा सेन्टर, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र भू–उपग्रह कनेक्टिभिटी जस्ता आधारभुत पक्षमा व्यापक लगानी आवश्यक छ । केन्द्रीय बैंक डिजिटल मुद्रा, क्रिप्टो, एआई, कम्प्युटर सेवा, डिजिटल सेवाहरू र ब्लकचेनजस्ता क्षेत्रमा लक्ष्य राख्ने हो भने सयौं मिलियन डलरको लगानी अनिवार्य हुने उनले बताए । 

उद्योगी वरुण चौधरीले वर्तमान दुई तिहाई नजिकको सरकारप्रति निजी क्षेत्रको ठुलो अपेक्षा रहेको बताए । विदेशी लगानीकर्ताहरू नेपालका हाइड्रोपावर, विमानस्थल, पूर्वाधार, सूचना प्रविधि र पर्यटन क्षेत्रमा सकारात्मक भए पनि उनीहरूलाई आकर्षित गर्ने उपयुक्त वातावरणको अभाव रहेको उनले बताए । त्यसका लागि नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न जरुरी रहेको बताउँदै उनले लगानीकर्तालाई आवश्यक सुविधा र भरोसाको वातावरण दिनुपर्ने बताए । चौधरीकाअनुसार विभिन्न प्रोत्साहन प्याकेजमार्फत विदेशी लगानी भित्राउन सकिन्छ ।

अर्का उद्योगी किशोर प्रधानले आगामी बजेटमार्फत सरकारले मुलुकमा मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गर्नुपर्ने बताए । धेरै वर्षदेखि उठ्दै आएको यो विषय कर्मचारीतन्त्रको असहयोगका कारण लागू नभएको उनको आरोप थियो । अहिले सूचना प्रविधिको विकाससँगै बहुदर प्रणाली लागू गर्न सम्भव भएको भन्दै उनले एउटै १३ प्रतिशत दरले सबै वस्तुमा कर लगाउनु उपयुक्त नहुने बताए । 

नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष समेत रहेका व्यवसायी दीपक मल्होत्राले रास्वपाले अघि सारेको सात वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने, १०० बिलियन डलरको अर्थतन्त्र र उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य महत्वाकांक्षी भएपनि सम्भव रहेको बताए । तर त्यसका लागि निजी क्षेत्रसँग सहकार्य हुन जरुरी रहेको उनले बताए ।

उनले अनौपचारिक रूपमा भइरहेको कारोबारलाई औपचारिक अर्थतन्त्रमा ल्याउनुपर्नेमा जोड दिँदै त्यसका लागि भन्सार दर, आयकर,अन्तःशुल्क तथा विभिन्न दस्तुरहरू घटाउनुपर्ने सुझाव दिए । कर दर घटाएर प्रणालीलाई सरल र आकर्षक बनाउनसके मात्रै व्यवसायहरू औपचारिक दायरामा आउने उनको तर्क थियो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीलगायतले निजी क्षेत्रसँग रास्वपाले गरेको संवादले मनबोल केही बढाएको बताए । उनीहरूले लगानी वृद्धि गर्न नीतिगत सुधारको माग गरे ।

ताजा खबर

सम्बन्धित खबर